
रोहतक (हरियाणा), २६ नोभेम्बर (हि.स.)। हरियाणाको रोहतकस्थित खरावड गाउँनजिकै रहेको मिलन ढाबामा गए राति चार युवकको गोली हानी हत्या गरिएको छ। खरावड पुलिस चौकीनजिकै भएको उक्त हत्याकाण्डलाई ग्याङवारको परिणाम मानिएको छ। पुलिस महानिरीक्षक हामिद अख्तर र पुलिस अधीक्षक गौरव राजपुरोहितले घटनास्थलको निरीक्षण गरी परिस्थितिको जायजा लिएका छन्। सीआईए, स्पेसल सेल तथा एफएसएलका टोलीले घटनाको अनुसन्धान गरिरहेका छन्।
पुलिसका अनुसार, चारै जना युवक मिलन ढाबामा खाना खाइरहेका बेला उनीहरूमाथि गोली प्रहार गरिएको थियो। मृतकमध्ये तीन जना झज्जर जिल्लाको डीघल गाउँका र एक जना बेरी क्षेत्रका बासिन्दा रहेको बताइएको छ। उक्त हत्याकाण्डलाई भाऊ र सन्नी रिटोलियाबीच चलिरहेको ग्याङवारसँग जोडेर हेरिएको छ। केही दिनअघि डीघलमा एक युवकको भएको हत्यासँग पनि यस घटनाको सम्बन्ध हुन सक्ने आशंका गरिएको छ।
ठूलो संख्यामा स्थानीयवासी रोहतक पीजीआई पुगेका छन्। पीजीआई परिसरमा पुलिस बल परिचालन गरिएको छ। चारै जनाको शव पीजीआई पुर्याइएको छ। खरावड पुलिस चौकीनजिकै चार युवकको हत्या भएपछि पुलिसको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी