
गान्तोक, २६ नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले ७७औँ संविधान दिवसको ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा सम्पूर्ण सिक्किमवासी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
सीएपी सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, '२६ नोभेम्बर, १९४९ मा भारतको संविधानसभाले भारतीय संविधान अङ्गीकार गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष २६ नोभेम्बरलाई संविधान दिवसका रूपमा मनाइन्छ। यो दिवस हाम्रो लोकतान्त्रिक मूल्य-मान्यता, संवैधानिक सर्वोच्चता तथा न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वप्रतिको प्रतिबद्धतालाई पुनः स्मरण गर्ने महत्वपूर्ण अवसर हो।'
सीएपीले भारतीय संविधान केवल राष्ट्र सञ्चालन गर्ने कानुनी दस्तावेज मात्र नभई प्रत्येक नागरिकको अधिकार, स्वतन्त्रता, सम्मान र समानताको आधारस्तम्भ रहेको बताएको छ। यसले नागरिकहरूलाई मौलिक अधिकार सुनिश्चित गर्नुका साथै राष्ट्र र समाजप्रतिको कर्तव्यबोध पनि गराएको विज्ञप्तिमा उल्लेख छ।
यस महत्वपूर्ण अवसरमा सीएपी सिक्किमले सम्पूर्ण नागरिकहरूलाई संविधानको सर्वोच्चताको सम्मान गर्न, यसका आदर्श र मूल्यमान्यतालाई आत्मसात् गर्न तथा संविधानप्रदत्त मौलिक अधिकार र कर्तव्यप्रति सचेत र जिम्मेवार रहन हार्दिक आह्वान गरेको छ।
सीएपीका अनुसार, 'लोकतन्त्रको सार निर्वाचन र राजनीतिक सहभागितामा मात्र सीमित छैन। यसको वास्तविक शक्ति विधिको शासन, नागरिक अधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता, समान न्याय र संवैधानिक संस्थाहरूको निष्पक्षता तथा सम्मानमा निहित हुन्छ। संविधानभन्दा माथि कुनै व्यक्ति, पद वा संस्था हुन सक्दैन भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्नु आजको आवश्यकता हो।'
सीएपीले संविधानको रक्षा गर्नु राज्यको मात्र दायित्व नभई प्रत्येक सचेत नागरिकको साझा जिम्मेवारी पनि रहेको बताएको छ। सीएपीले संविधानप्रदत्त अधिकारको संरक्षण गर्दै आफ्ना कर्तव्यहरू इमानदारीपूर्वक निर्वाह गरौँ र संवैधानिक मूल्य-मान्यतामा आधारित न्यायपूर्ण, समतामूलक, समावेशी तथा उत्तरदायी समाज निर्माणका लागि एकजुट बनौँ भनी आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल