
नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। कोलम्बो सेक्युरिटी कन्क्लेभ (सीएससी) को आठौँ राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरीय बैठकमा भारत सहित चार सदस्य राष्ट्रले वर्ष २०२६-२७ का लागि सहयोगको रोडम्याप स्वीकृत गरेका छन्। यस अन्तर्गत समुद्री सुरक्षा, आतङ्कवाद विरुद्ध मुकाबिला, साइबर सुरक्षा तथा विपद् व्यवस्थापन सहित पाँच प्रमुख क्षेत्रमा आपसी सहयोग बढ़ाउने सहमति भएको छ।
माल्दिभ्सको आतिथ्यमा २५ नोभेम्बरमा भिल्ला नौटिका प्याराडाइज आइल्यान्डमा आयोजित यस बैठकमा भारत, माल्दिभ्स, श्रीलङ्का र बाङ्ग्लादेशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरूले सहभागिता जनाएका थिए। मरिससले भने बैठकमा भर्चुअल माध्यमबाट सहभागिता जनाएको थियो।
बैठकमा भारतको प्रतिनिधित्व राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गरेका थिए। माल्दिभ्सका राष्ट्रिय सुरक्षा सल्लाहकार इब्राहिम लतीफ, श्रीलङ्काको रक्षा मन्त्रालयका सचिव एयर भाइस मार्शल सम्पत थुयाकोन्था तथा बाङ्ग्लादेशको राष्ट्रिय रक्षा महाविद्यालयका कमान्डेन्ट लेफ्टिनेन्ट जनरल एमडी फैजुर रहमानले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरे।
अस्ट्रेलिया र मलेसियाले अतिथि राष्ट्रका रूपमा बैठकमा सहभागिता जनाए। अस्ट्रेलियाका तर्फबाट विदेश मामिला तथा व्यापार विभागको दक्षिण र दक्षिणपूर्व एशिया समूहकी प्रथम सहायक सचिव सारा स्टोरी तथा मलेशियाका तर्फबाट प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय सुरक्षा परिषद्को समुद्री सुरक्षा तथा सार्वभौमिकता विभागका निदेशक खैरुल अजहर (निक) बिन अबु बकर सहभागी भए।
बैठकका क्रममा कोलम्बो सेक्युरिटी कन्क्लेभका पहिलो महासचिव भाइस एडमिरल एसएन घोरमाडे (सेवानिवृत्त) ले गत वर्ष २० नोभेम्बरमा नयाँ दिल्लीमा आयोजित सातौँ राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरीय बैठकमा लिइएका निर्णयहरू कार्यान्वयन गर्ने दिशामा भएको प्रगतिको विस्तृत समीक्षा प्रस्तुत गरेका थिए।
बैठकमा माल्दिभ्स, भारत, मौरिसस (भर्चुअल माध्यमबाट) र श्रीलङ्का सहित सीएससीका सदस्य राष्ट्रहरूले सहमति कार्यवृत्तमा हस्ताक्षर गर्दै २०२६-२७ का लागि सहयोगको रोडम्याप स्वीकृत गरेका छन्। यस रोडम्यापमा पाँच प्रमुख क्षेत्रअन्तर्गत सञ्चालन गरिने कार्य तथा प्रस्तावित गतिविधिहरूको विवरण समावेश गरिएको छ।
सहयोगका यी पाँच प्रमुख क्षेत्रमा समुद्री सुरक्षा, आतङ्कवाद तथा कट्टरपन्थ विरुद्ध मुकाबिला, तस्करी तथा अन्तरराष्ट्रिय सङ्गठित अपराधको रोकथाम, साइबर सुरक्षा एवं महत्त्वपूर्ण पूर्वाधार र प्रविधिको सुरक्षा तथा मानवीय सहायता एवं विपद् राहत समावेश छन्।
सदस्य राष्ट्रहरूले क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्द्धन गर्न निरन्तर आपसी सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनीहरूले प्रशिक्षण, एकअर्काका अनुभव तथा उत्कृष्ट कार्यप्रणाली आदान-प्रदान र क्षमता अभिवृद्धि सम्बन्धी पहल मार्फत सहयोगलाई थप सुदृढ़ बनाउन जोड दिएका छन्।
बैठकमा हिन्द महासागर क्षेत्रमा देखा परिरहेका सुरक्षा चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न तथा क्षेत्रीय स्थिरता कायम राख्न सदस्य राष्ट्रहरूबीच सामूहिक प्रयासलाई निरन्तर अगाड़ी बढ़ाउनु आवश्यक रहेको विषयमा पनि सहमति व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी