उपराष्ट्रपति लगायत विभिन्न नेताहरूद्वारा संविधान दिवसमा देशवासीलाई शुभकामना
प्रतीकात्मक


नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरला तथा रक्षामन्त्री राजनाथ सिंह लगायत सत्तापक्ष र विपक्षका विभिन्न नेताहरूले बिहिवार संविधान दिवसको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका छन्।

उपराष्ट्रपतिले एक्समा लेखेका छन्, “यस अवसरमा म बाबासाहेब डा. भीमराव अम्बेडकरप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु र संविधान सभाका ती विशिष्ट सदस्यहरूलाई सादर नमन गर्दछु, जसको दूरदृष्टि, बुद्धिमत्ता र समर्पणले हाम्रो संविधानलाई आकार दिनुका साथै हाम्रो लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। आउनुहोस्, हामी न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वका संवैधानिक आदर्शहरूप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याऔँ र सशक्त, समावेशी तथा समृद्ध भारत निर्माणका लागि मिलेर प्रयास गरौँ।”

लोकसभा अध्यक्ष ओम बिरलाले भारतको संविधान हाम्रो लोकतान्त्रिक चेतना, राष्ट्रिय एकता तथा नागरिकहरूको अधिकार र कर्तव्यका लागि एउटा बलियो आधार भएको बताएका छन्। संविधानमा निहित न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वका आदर्शहरू देशको लोकतान्त्रिक व्यवस्थाका आत्मा रहेको उनले उल्लेख गरेका छन्। यी संवैधानिक मूल्यहरूको गरिमा, पवित्रता र भावनालाई कायम राख्नु सबैको सामूहिक जिम्मेवारी भएको उनको भनाइ छ। उनले संविधानको प्रस्तावना, यसको मूल भावना र मूल्यहरूलाई बुझेर आफ्नो आचरण तथा दैनिक जीवनमा अपनाउन सबैलाई आह्वान गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले संविधान भारतको लोकतन्त्रको आधारशिला भएको बताएका छन्। यसले देशको शासन व्यवस्थालाई स्थापित गर्नुका साथै न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वका आदर्शहरूलाई साकार पार्ने मार्ग पनि प्रशस्त गरेको उनले उल्लेख गरेका छन्। संविधानले सद्भाव र समावेशिता भएको समाज निर्माण गर्न प्रेरित गर्ने तथा प्रत्येक व्यक्तिलाई समान अवसर, सम्मान र गरिमा प्राप्त हुने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

केन्द्रिय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले संविधान विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको बलियो आधार भएको बताएका छन्। यसले प्रत्येक नागरिकलाई समान अवसर र सम्मानका साथ जीवनयापन गर्ने अधिकार प्रदान गर्ने उनले उल्लेख गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ‘संविधान दिवस’ मनाउने शुरुआत गरेर संवैधानिक मूल्यहरू प्रत्येक नागरिकसम्म पुर्याउने कार्य गरेको पनि उनले बताएका छन्।

केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले भारतीय संविधान देशको लोकतन्त्रको आत्मा भएको बताएका छन्। भारत रत्न डा. बाबासाहेब अम्बेडकरले देशलाई प्रगतिशील संविधान प्रदान गरेको उनले उल्लेख गरेका छन्।

विदेशमन्त्री डा. एस. जयशंकरले संविधानका निर्माताहरू तथा गणतन्त्रप्रतिको उनीहरूको दूरदृष्टिलाई नमन गर्नुपर्ने बताएका छन्। साथै, उनीहरूका आदर्श र सिद्धान्तहरूप्रतिको प्रतिबद्धता दोहोर्याउनुपर्ने उनले उल्लेख गरेका छन्।

/ बिशाल


 rajesh pande