
कोलकाता, 26 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको पूर्व मेदिनीपुर जिल्लाको हल्दिया रेलवे स्टेशनमा एकजना युवतीसित भएको अभद्र व्यवहारको विरोध गर्दा युवतीका हजुरबुवा-हजुरामामाथि कुटपिट गरेको घटना प्रकाशमा आएको छ। यस घटनामा दुवै जना गम्भीर रूपमा घाइते भएका छन्। रेलवे पुलिसले यस मामिलामा तीन जना अभियुक्तहरूलाई पक्राउ गरेको छ।
रेलवे पुलिसले बिहीवार बिहान साझा गरेको जानकारी अनुसार दक्षिण 24 परगनाकी 19 वर्षीया सुर्बिना खातुन हाल दिल्लीको जहाँगीरपुरी क्षेत्रमा बस्छिन्। उनी गए 25 नोभेम्बरको दिन रेल नम्बर- 12444 आनन्द विहार-हल्दिया एक्सप्रेसबाट यात्रा गरिरहेकी थिइन्। राती करिब 8ः20 बजे रेलमै सहयात्रीहरूले उनीप्रति अश्लील टिप्पणी गर्नको साथै अभद्र इशारा गरे।
युवतीका हजुरबुवाले विरोध गर्दा अभियुक्तहरूले उनलाई पनि दुर्व्यवहार गर्दै धम्की दिए। त्यसपछि हल्दिया रेलवे स्टेशनको प्लेटफर्म नम्बर- 1 मा राती करिब 8ः50 बजे अभियुक्तहरूले उनीहरूका अन्य सहयोगीहरूसँग मिलेर दुवैमाथि प्रहार गरे जसले गर्दा युवतीका हजुरबुवाको टाउकोमा गम्भीर चोट लागेर रगत बग्यो भने उनकी हजुरआमाको कानमा चोट लाग्यो। दुवै घाइतेहरूलाई हल्दिया महकुमा अस्पतालमा भर्ना गरिएको छ।
यस मामिलामा रेलवे पुलिसले तीन जना अभियुक्तहरूलाई पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तहरूको पहिचान असलम अली (19), मुक्तार अली (29) र जासिम खान (18)- को रूपमा भएको छ। पुलिसले यस मामिलामा विस्तृत अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा