
नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा रक्षामन्त्री राजनाथ सिंह लगायत विभिन्न नेताहरूले बिहिवार २६/११ मुम्बई आतङ्कवादी हमलाको वार्षिकीका अवसरमा ज्यान गुमाएका निर्दोष नागरिक तथा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
राष्ट्रपति मुर्मुले एक्समा लेखेकी छन्, “आतङ्कवाद विरुद्ध निर्भीकतापूर्वक उभिएका हाम्रा बहादुर सैनिक, पुलिसकर्मी तथा सबै व्यक्तिहरूको साहसलाई म सलाम गर्दछु। उनीहरूको बलिदान र निःस्वार्थ सेवा हाम्रो देशको आत्मामा सदैव अंकित रहनेछ। आतङ्कवादले जीवन तहसनहस पार्न सक्ला, तर साहस, करुणा र दृढ़ताका साथ एकजुट भएको राष्ट्रको मनोबल कहिल्यै तोड्न सक्दैन। आज हामी पीड़ित तथा उनीहरूका परिवारसँग साथमा उभिएका छौँ। साथै सबै स्वरूपका आतङ्कवादलाई समाप्त पार्ने र अझ् शान्तिपूर्ण तथा मानवीय विश्व निर्माण गर्ने आफ्नो सामूहिक सङ्कल्प दोहोर्याउँछौँ।”
उपराष्ट्रपतिले भारत आतङ्कवादका सबै स्वरूपप्रति ‘शून्य सहनशीलता’ को नीतिमा अडिग रहेको र यसका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्। आतङ्कवादलाई परास्त गर्ने तथा शान्ति र सुरक्षा कायम राख्ने सङ्कल्पका साथ सम्पूर्ण देश एकजुट रहेको उनको भनाइ छ।
लोकसभा अध्यक्ष ओम बिरलाले बहादुर सुरक्षाकर्मीहरूको अदम्य साहस, कर्तव्यप्रतिको समर्पण र मातृभूमिप्रतिको अटुट निष्ठा सधैँ देशको स्मृतिमा अंकित रहने बताएका छन्। यो दिनले आतङ्कवाद विरुद्ध एकजुट रहने, राष्ट्रिय सुरक्षाप्रति सतर्क रहने तथा शान्ति र मानवीय मूल्यहरूको रक्षा गर्ने सङ्कल्पलाई अझ् सुदृढ़ बनाउन प्रेरणा दिने उनले उल्लेख गरेका छन्। देशले ती सबै बहादुर नायक तथा निर्दोष नागरिकहरूको बलिदानलाई सधैँ कृतज्ञतापूर्वक स्मरण गरिरहने उनको भनाइ छ।
रक्षामन्त्री राजनाथ सिंहले आतङ्कवादको सामना गर्दै दृढ़तापूर्वक उभिएका पुलिस तथा सुरक्षा बलहरूको साहस, वीरता र अटुट समर्पणप्रति नमन गरेका छन्। उनीहरूको साहसले कर्तव्य, बलिदान र राष्ट्रसेवाको सर्वोच्च परम्परालाई प्रतिबिम्बित गर्ने उनले बताएका छन्। उनीहरूको सर्वोच्च बलिदान सदैव प्रेरणाको स्रोत बनिरहने उल्लेख गर्दै भारत सबै स्वरूपका आतङ्कवादलाई समाप्त पार्ने आफ्नो सङ्कल्पमा दृढ़ रहेको उनले बताएका छन्।
केन्द्रिय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहले आतङ्कवाद मानवता विरुद्धको सबैभन्दा जघन्य अपराध भएको बताएका छन्। आतङ्कवादप्रति मोदी सरकारको ‘शून्य सहनशीलता’ नीतिको विश्वभरि प्रशंसा भइरहेको उनले उल्लेख गरेका छन्। आज भारत आतङ्कवादविरुद्धको विश्वव्यापी लडाइँमा अग्रणी भूमिका निर्वाह गरिरहेको र आतङ्कवादका हरेक स्वरूप तथा षड्यन्त्र विरुद्ध निर्णायक कारबाही गरिरहेको उनको भनाइ छ।
विदेश मन्त्री डा. एस. जयशंकरले केन्द्र सरकार आतङ्कवादका सबै स्वरूप विरुद्ध लड्न र यसमा संलग्न व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्। आतङ्कवादप्रति मोदी सरकारको नीति ‘शून्य सहनशीलता’ रहेको उनले उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी