
गान्तोक, २६ नोभेम्बर (हि.स.)। गान्तोकको रेशिथाङस्थित खेलगाउँमा जारी चौथो एनटीपीसी राष्ट्रिय वरीयता आर्चरी प्रतियोगिता २०२६ अन्तर्गत जुनियर च्याम्पियनसिप आज सम्पन्न भएको छ। जुनियरतर्फका चार विधामा नकआउट चरण तथा अन्तिम प्रतिस्पर्धा पूरा भएसँगै विजेताहरू चयन भएका हुन्।
आज जुनियर रिकर्भ पुरुष, जुनियर रिकर्भ महिला, जुनियर कम्पाउन्ड पुरुष र जुनियर कम्पाउन्ड महिला विधामा प्रतिस्पर्धा भएको थियो। खेलाडीहरूले नकआउट चरण पार गर्दै अन्तिम स्थानका लागि प्रतिस्पर्धा गरेका थिए।
जुनियर रिकर्भ पुरुषतर्फ उत्तर प्रदेशका अभिषेकले ७-३ सेट अङ्कको जितसहित च्याम्पियनको उपाधि हासिल गरे। राजस्थानका कृष्ण कुमार ३ सेट अङ्कसहित दोस्रो भए भने हरियाणाका अगस्त्य सिंह ६ सेट अङ्कसहित तेस्रो स्थानमा रहे।
जुनियर रिकर्भ महिलातर्फ झारखण्डकी खुशी कुमारीले ७-१ सेट अङ्कको जित दर्ता गर्दै च्याम्पियन बनिन्। हरियाणाकी अन्नु १ सेट अङ्कसहित दोस्रो भइन् भने रेलवे खेल प्रवर्द्धन बोर्डकी माधवी चौहान ७ सेट अङ्कसहित तेस्रो स्थानमा रहिन्।
जुनियर कम्पाउन्ड पुरुषतर्फ राजस्थानका प्रबल प्रतापले आफ्नै राज्यका हर्ष कुमारलाई १४७-१४५ अङ्कले पराजित गर्दै उपाधि जिते। हर्ष कुमार १४५ अङ्कसहित दोस्रो भए। हरियाणाका लभप्रीत सिंहले १४७-१४६ अङ्कको जितसहित तेस्रो स्थान हासिल गरे।
जुनियर कम्पाउन्ड महिलातर्फ उत्तर प्रदेशकी सन्दियाले दिल्लीकी कुमुद सैनीलाई १४८-१४३ अङ्कले पराजित गर्दै च्याम्पियन बनिन्। कुमुद सैनी १४३ अङ्कसहित दोस्रो भइन्। दिल्लीकी लेकिशा गाहल्याणले रोमाञ्चक शूट-अफमा १४१(१०)-१४१(९) को नतिजासहित तेस्रो स्थान हासिल गरिन्।
जुनियर विधाका प्रतिस्पर्धा सम्पन्न भएसँगै प्रतियोगिता अब अर्को चरणमा प्रवेश गर्नेछ। प्रतियोगिताअन्तर्गत सब-जुनियर च्याम्पियनसिप आगामी २८ नोभेम्बर, २०२६ देखि शुरु हुनेछ।
भारतीय आर्चेरी सङ्घले सिक्किम आर्चेरी सङ्घसँगको सहकार्यमा आयोजना गरिरहेको चौथो एनटीपीसी राष्ट्रिय वरीयता तीरन्दाजी प्रतियोगिता आगामी ३० नोभेम्बरसम्म सञ्चालन हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल