
गान्तोक, २६ नोभेम्बर (हि.स.)। सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङकी पूजनीय माता स्वर्गीय धनमाया तामाङको निधनप्रति शोक व्यक्त गर्दै पार्टीले आगामी ३० नोभेम्बर, २०२६ मा हुने अन्त्येष्टि समारोह सम्पन्न नभएसम्मका लागि आफ्ना सम्पूर्ण कार्यक्रम, बैठक तथा अन्य गतिविधि स्थगित गर्ने निर्णय गरेको छ।
यसैगरी राज्यभरिका पार्टीका राज्य, जिल्ला, समष्टि तथा वार्डस्तरीय सबै कार्यालयहरू पनि ३० नोभेम्बरसम्म बन्द रहने जनाइएको छ। पार्टीका महासचिव (मुख्यालय) एवं प्रशासन प्रभारी पवन गुरुङद्वारा जारी कार्यालय आदेशमार्फत सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई यस शोकको घडीमा शान्ति र संयम कायम राख्न, शोकसन्तप्त परिवारलाई पूर्ण सहयोग पुर्याउन तथा दिवङगत आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न आग्रह गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल