जम्मू-कश्मीर र पञ्जाबका आठ स्थानमा ईडीको छापा
प्रवर्तन निदेशालय (ईडी)


नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.)। प्रवर्तन निर्देशनालय (ईडी) को जम्मू कार्यालयले लगानीका नाममा ठगी गरेको आरोपसँग सम्बन्धित धनशोधन मुद्दामा शुक्रबार जम्मू-कश्मीर र पञ्जाबका आठवटा स्थानमा छापा मारेको छ। जम्मु–कश्मीरको कठुआ र उधमपुर तथा पञ्जाबको पठानकोटलगायत विभिन्न स्थानमा यो कारबाही भइरहेको छ।

यस मामिलामा सशस्त्र सीमा बल (एसएसबी) का पूर्वकर्मी गुरमीत सिंह र उनका सहयोगीहरूमाथि उच्च तथा निश्चित मासिक प्रतिफल दिने प्रलोभन देखाएर सर्वसाधारणलाई लगानी गर्न लगाएको आरोप छ।

ईडीका अनुसार जम्मू-कश्मीर, उत्तराखण्ड, उत्तर प्रदेश, राजस्थान, हरियाणा र बिहारका विभिन्न पुलिस निकायमा दर्ता भएका कैयौँ प्राथमिकीका आधारमा यो अनुसन्धान शुरु गरिएको हो। ती मुद्दाहरूमा सर्वसाधारणका साथै सेवारत र अवकाशप्राप्त एसएसबी कर्मचारीहरूसमेत ठगीमा परेको आरोप छ। अभियुक्तहरूले लगानीकर्तालाई उच्च तथा सुनिश्चित मासिक मुनाफा दिने आश्वासन दिएर रकम सङ्कलन गरेको बताइएको छ।

अनुसन्धानका क्रममा वित्तीय विवरणहरूको छानबिन गर्दा अभियुक्तहरूले विभिन्न कम्पनी तथा व्यावसायिक संस्थामार्फत लगानीकर्ताबाट करोडौँ रुपियाँ सङ्कलन गरेको तथ्य फेला परेको ईडीले जनाएको छ।

यसमा कठुआस्थित मेसर्स स्टाइल ओ इन्डस्ट्री, मेसर्स स्टाइल ओ कम्फर्ट क्रिएसन्स प्राइभेट लिमिटेडलगायत अन्य संस्थाहरू संलग्न रहेको बताइएको छ। ईडीका अनुसार, यी संस्थाहरूको सञ्चालन तथा नियन्त्रण अभियुक्तहरूकै हातमा रहेको थियो।

ईडीले धनशोधन निवारण ऐन (पीएमएलए), २००२ अन्तर्गत शुक्रबारदेखि छानबिन तथा खानतलासी अभियान शुरु गरेको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande