कार्तिगई दीपम विवादमा सुप्रीम कोर्टको आदेशको विहिपद्वारा स्वागत
विहिप के अंतरराष्ट्रीय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता आलोक कुमार


नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.)। तमिलनाडुको कार्तिगई दीपम विवादमा सुप्रीम कोर्टले दिएको आदेशको विश्व हिन्दू परिषद् (विहिप) ले स्वागत गरेको छ। विहिपका अन्तरराष्ट्रिय अध्यक्ष आलोक कुमारले अदालतको हस्तक्षेपलाई हिन्दू आस्था र कानुनी शासनको पुनःस्थापनाको दिशामा महत्त्वपूर्ण कदम बताएका छन्। उनले यस घटनालाई तमिलनाडु सरकार तथा हिन्दूविरोधी राजनीतिमाथिको कडा प्रहारका रूपमा व्याख्या गरेका छन्।

शुक्रबार जारी एक विज्ञप्तिमा आलोक कुमारले सुप्रीम कोर्टले २० नोभेम्बरमा दीपथून स्तम्भमा कार्तिगई दीपम प्रज्वलन गर्न निर्देशन दिएको भए पनि २४ नोभेम्बरमा दीप प्रज्वलन नगरिएको बताए। केही राजनीतिक दल र प्रशासनिक संयन्त्रले मिलेर अदालतको आदेशलाई निष्प्रभावी बनाउने प्रयास गरेको उनको आरोप छ। उनले सर्वोच्च अदालतले २८ नोभेम्बरमा दीपथून स्तम्भमा दीप प्रज्वलन गर्न स्पष्ट निर्देशन दिएको पनि बताए।

अदालतले मन्दिरको न्यासी मण्डललाई निलम्बन गर्दै मद्रास उच्च अदालतका दुई पूर्वन्यायाधीश न्यायमूर्ति एस. वैद्यनाथन र न्यायमूर्ति वी. पार्थिबनलाई रिसिभर नियुक्त गरेको छ। मन्दिर र दरगाह दुवैको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी केन्द्रिय रिजर्भ प्रहरी बल (सीआरपीएफ) लाई सुम्पिएको छ। साथै, श्रद्धालुहरूलाई दरगाहबाट कम्तीमा ५० मिटर टाढा दीप प्रज्वलन गर्न अनुमति दिइएको छ।

आलोक कुमारका अनुसार, अदालतले तमिलनाडुका मुख्य सचिव, पुलिस महानिर्देशक, मदुरैका जिल्ला अधिकारी तथा मन्दिरको न्यासी मण्डलका सदस्यहरूलाई अदालतको अवहेलनासम्बन्धी कारण देखाऊ सूचना जारी गरेको छ। अदालतले २० नोभेम्बरको आदेश जानाजानी पालना नगरिएको र मदुरैमा प्रशासनिक अव्यवस्था सिर्जना भएको विषयमा प्रारम्भिक रूपमा चिन्ता व्यक्त गरेको उनले बताए। यसका साथै सम्बन्धित अधिकारीहरूबीच भएका पत्राचार, ईमेल तथा अन्य सञ्चारको विवरणसमेत माग गरिएको छ।

उनले कुनै पनि सरकार, राजनीतिक दल वा प्रशासनिक अधिकारी न्यायपालिकाभन्दा माथि हुन नसक्ने बताए। तमिलनाडु सरकारले विगतका गल्तीबाट पाठ सिकेर आगामी दिनमा अदालतका आदेश तथा हिन्दू धार्मिक परम्पराको अवहेलना नगर्ने अपेक्षा पनि उनले व्यक्त गरे।

यद्यपि, अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि थप सुनुवाई हुन बाँकी रहेको छ। सम्बन्धित अधिकारीहरूलाई १५ दिसम्बरमा सुप्रीम कोर्टमा उपस्थित हुनुपर्नेछ। त्यसैले यस विषयमा अन्तिम न्यायिक निर्णयको प्रतीक्षा गरिने आलोक कुमारले बताएका छन्।

उल्लेखनीय छ, तमिलनाडुको मदुरै जिल्लास्थित तिरुपरनकुन्द्रम पहाडमा रहेको दीपथून स्तम्भमा अदालतको आदेश हुँदाहुँदै पनि दीप प्रज्वलन नगरिएपछि सर्वोच्च अदालतले प्रशासनप्रति कडा असन्तुष्टि व्यक्त गरेको थियो। २७ नोभेम्बरको सुनुवाईमा अदालतले २० नोभेम्बरको आदेश जानाजानी उल्लङ्घन गरिएको भन्दै यसलाई अदालतको अवहेलनाको विषय मानेको थियो। अदालतले २८ नोभेम्बरमा सीआरपीएफको सुरक्षाबीच दीप प्रज्वलन गर्न निर्देशन दिएको छ।

कार्तिक पूर्णिमाका दिन ‘कार्तिगई दीपम’ नामक धार्मिक अनुष्ठानअन्तर्गत पहाडमा रहेको दीपथून स्तम्भमा दीप प्रज्वलन गर्ने परम्परा छ। पहाडमा रहेको उक्त स्तम्भमा दीप बाल्न हिन्दू पक्षले माग गरेपछि विवाद शुरु भएको थियो। तमिलनाडु सरकारले अनुमति नदिएपछि हिन्दू पक्ष सुप्रीम कोर्ट पुगेको थियो। अदालतले निर्धारित मितिमा दीप प्रज्वलन गर्न आदेश दिए पनि २४ नोभेम्बरमा उक्त स्तम्भमा दीप प्रज्वलन गरिएको थिएन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande