
गान्तोक, 09 नोभेम्बर (हि.स.)। दीपावली उत्सवका क्रममा आइतबार राति राजधानीका दुई स्थानमा आगलागीका घटना भएका छन्। घटनामा फरेस्ट कलोनीस्थित आवासीय क्षेत्रमा रहेको एउटा सरकारी क्वार्टर तथा एमजी मार्गका दुईवटा रूखमा आगो लागेको छ।
प्रारम्भिक जानकारीअनुसार, गान्तोकस्थित फरेस्ट कलोनीमा स्थानीय आवासीय क्षेत्रमा कथित पटेकाले सरकारी क्वार्टरमा आगो लागेको आशङ्का गरिएको छ।
यसैगरी, एमजी मार्गमा पटेका पड्किँदा दुईवटा रूखमा आगो लागेको घटना प्रकाशमा आएको छ। दुवै स्थानमा लागेको आगो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुन पाएन।
जानकारी अनुसार, घटनासम्बन्धमा सदर थाना पुलिसले दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ। पुलिसले एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। पुलिसले घटनाबारे थप जाँच गरिरहेको जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल