पूर्वोत्तर सीमावर्ती रेलवेको आरपीएफद्वारा आठ बालबालिकाको उद्धार, दुई महिलाको सुरक्षित प्रसूतिमा सहयोग
पूसीरे के आरपीएफ द्वारा चलाए गये विभिन्न अभियानों की तस्वीर


- चार जना पक्राउ, २ करोड ८ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद

गुवाहाटी, ०९ नोभेम्बर (हि.स.)। पूर्वोत्तर सीमावर्ती रेलवे (पूसीरे) को रेलवे सुरक्षा बल (आरपीएफ) ले नोभेम्बरको पहिलो सातामा विभिन्न रेलवे स्टेसन तथा रेलगाडीमा सञ्चालन गरेको अभियानका क्रममा आठ जना बालबालिकाको उद्धार गरेको छ। उद्धार गरिएकामा छ जना बालक र दुई जना बालिका रहेका छन्।

यसैबीच, अगरतला र लामडिङमा रेलयात्राका क्रममा प्रसव पीडामा परेका दुई महिलालाई आरपीएफका सुरक्षाकर्मीहरूले चिकित्सकीय सहायता उपलब्ध गराउन सहयोग गरेका छन्। दुवै महिलाले रेलगाडीमै शिशुलाई जन्म दिएका छन्।

पूसीरेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले सोमबार दिएको जानकारीअनुसार, नोभेम्बर ४ देखि ६ तारिखसम्म रङ्गिया, न्यु बङ्गाईगाउँ, कटिहार, न्यु जलपाइगढी र गुवाहाटी रेलवे स्टेसनमा उद्धार अभियान सञ्चालन गरिएको थियो।

नोभेम्बर ४ तारिख रङ्गियामा आरपीएफ र सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले रेल सङ्ख्या १५६२८ डाउनबाट एक बालिकाको उद्धार गरी राजकीय रेल पुलिस (जीआरपी) लाई बुझाएका थिए। सोही दिन न्यु बङ्गाईगाउँबाट अर्की बालिकाको उद्धार गरी सखी वन स्टप सेन्टरको संरक्षणमा राखिएको थियो। यसका अतिरिक्त कटिहार, न्यु जलपाइगढी र गुवाहाटीबाट एक-एक जना बालकको उद्धार गरिएको थियो।

नोभेम्बर ६ तारिख रङ्गियाबाट थप दुई जना तथा न्यु जलपाइगढीबाट एक जना बालकको उद्धार गरिएको थियो। उद्धार गरिएका सबै आठै जना बालबालिकालाई थप हेरचाह तथा संरक्षणका लागि सम्बन्धित बाल संरक्षण निकायहरूलाई बुझाइएको छ।

दुई महिलाको सुरक्षित प्रसूतिमा सहयोग

सीपीआरओ शर्माका अनुसार, नोभेम्बर ४ तारिख अगरतलामा आरपीएफका सुरक्षाकर्मीहरूले रेल सङ्ख्या १४६२० अपमा यात्रा गरिरहेकी एक महिलालाई प्रसूतिका क्रममा सहयोग गरेका थिए। ती महिलाले रेलगाडीमै शिशुलाई जन्म दिएकी थिइन्। त्यसपछि उनलाई एम्बुलेन्समार्फत थप उपचारका लागि अगरतलास्थित अस्पताल पुर्‍याइएको थियो।

त्यसैगरी, नोभेम्बर ५ तारिख लामडिङ रेलवे स्टेसनमा रेल सङ्ख्या १३१७४ डाउनमा यात्रा गरिरहेकी अर्की महिलालाई प्रसव पीडा भएको थियो। सूचना प्राप्त हुनासाथ महिला हेड कन्स्टेबलसहित आरपीएफ टोलीले तत्काल सहायता उपलब्ध गराएको थियो। ती महिलाले रेलगाडीमै छोरीलाई जन्म दिएकी थिइन्।

विभिन्न अभियानमा चार जना पक्राउ, लागुऔषधसहित सामग्री बरामद

बालबालिकाको उद्धार तथा यात्रुहरूलाई सहयोग गर्नुका साथै आरपीएफले विभिन्न सुरक्षा अभियान सञ्चालन गरी चारवटा घटनामा चार जनालाई नियन्त्रणमा लिएको छ।

अभियानका क्रममा बदरपुरबाट चार पेस्तोल र चारवटा म्यागजिन बरामद गरिएको छ। हारमतीबाट करिब २० हजार रुपियाँ मूल्यका नक्कली सुनका चार टुक्रा जफत गरिएको छ।

त्यसैगरी, न्यु जलपाइगढीबाट करिब दुई करोड रुपियाँ मूल्यको १.०३१ किलोग्राम ब्राउन सुगर र कामाख्याबाट करिब १७ हजार रुपियाँ मूल्यको चोरी भएको एउटा मोबाइल फोन बरामद गरिएको छ।

यसका अतिरिक्त करिब ६ लाख ८० हजार रुपियाँ मूल्यको १३.०६ किलोग्राम गाँजा तथा मदिराका ४४९ बोतल पनि जफत गरिएको छ। कटिहारबाट छुट्टै अभियानमा ६.७५० लिटर मदिरा बरामद गरिएको छ।

पूसीरेका अनुसार, यात्रुहरूको सुरक्षा, बालबालिकाको संरक्षण तथा आवश्यक परेका यात्रुहरूलाई समयमै सहायता उपलब्ध गराउन रेलवे सुरक्षा बल प्रतिबद्ध छ। यसका लागि आरपीएफले पुलिस, स्वास्थ्य सेवा प्रदायक तथा बाल संरक्षण निकायहरूसँग समन्वय गरी काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande