लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताममा देखिन थाले हर्नबिल, स्थानीयहरूमा उत्साह
लोवर लामाहट्टामा देखिएको हर्नबिल


लोवर लामाहट्टामा देखिएको हर्नबिल


दार्जिलिङ, 09 नोभेम्बर (हि.स.)। दार्जिलिङ जिल्ला अन्तर्गत लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताम क्षेत्रमा पछिल्ला केही वर्षदेखि दुर्लभ धनेश चरा (हर्नबिल) नियमित रूपमा देखिन थालेपछि स्थानीय बासिन्दा तथा चराप्रेमीहरूमा उत्साह छाएको छ।

स्थानीय बासिन्दाका अनुसार, हरेक वर्ष जाडोयाममा यस क्षेत्रमा धनेश चरा आउने गरेको छ। लोपोन्मुख प्रजातिमा पर्ने यो चरा सहजै देख्न पाइँदैन। यसको एक झलक पाउन चराप्रेमीहरू लामो समयसम्म खोजी गर्ने गर्छन्। तर, यहाँका बासिन्दाहरूले भने आफ्नै गाउँमा यस दुर्लभ चराको अवलोकन गर्ने अवसर पाइरहेका छन्। कतिपय अवस्थामा धनेश चरा स्थानीयका घरका छानामै आएर बस्ने गरेको बताइएको छ।

विशेषगरी न्यानो हावापानी भएको लाटपञ्चर तथा दार्जिलिङका अन्य क्षेत्रमा देखिने धनेश चरा तुलनात्मक रूपमा चिसो हावापानी भएको लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताम क्षेत्रमा समेत देखिनु चासोको विषय बनेको छ। यद्यपि, यस क्षेत्रमा यसको आगमन र बसाइँसराइको कारणबारे यकिन जानकारी प्राप्त भएको छैन।

अर्कोतर्फ, गाउँमा मृग, चितुवा, दुम्सी, स्याल तथा लुइँचे र कालीजजस्ता वन्यजन्तु एवं जङ्गली चराहरूको प्रवेशले स्थानीय विशेषगरी किसानहरू समस्यामा पर्ने गरेका छन्। यस्ता वन्यजन्तुले पशुधनमाथि आक्रमण गर्नुका साथै कृषि उत्पादनमा समेत क्षति पुर्याउने गरेको स्थानीयको भनाइ छ।

तर, धनेश चराले भने अहिलेसम्म स्थानीयहरूलाई कुनै हानि पुर्याएको छैन। बरु, यसको नियमित उपस्थितिले गाउँलेहरूलाई दुर्लभ चराको अवलोकन गर्ने अवसर प्रदान गरेको छ। गाउँमै लोपोन्मुख चराको उपस्थिति देखिनुलाई स्थानीयहरूले प्रकृतिको सुखद उपहारका रूपमा लिएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande