
दार्जिलिङ, 09 नोभेम्बर (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का वरिष्ठ नेता, पश्चिम बङ्गाल विधानसभाका पूर्व विधायक तथा दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) का पूर्व कार्यकारी पार्षद् एनक कुमाईको ८ नोभेम्बर, २०२६ मा निधन भएको छ। उनको निधनले दार्जिलिङको राजनीतिक, शैक्षिक तथा श्रमिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ।
सुवास घिसिङका निकट सहयोगी रहेका कुमाईले गोर्खा जातीय आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। १९९० मा स्थापित हिमालयन प्लान्टेशन वर्कर्स युनियनका संस्थापक अध्यक्षका रूपमा उनले चियाबारी श्रमिकहरूको हकहित, अधिकार तथा सामाजिक सुरक्षाका लागि उल्लेखनीय योगदान पुर्याएका थिए।
राजनीतिमा सक्रिय हुनुअघि उनी दार्जिलिङस्थित टर्नबुल हाई स्कुलमा शिक्षकका रूपमा कार्यरत थिए।उनको निधनप्रति दार्जिलिङका सांसद राजु विष्ट, पूर्व विधायक तथा गोरामुमो नेता निरज जिम्बालगायत विभिन्न नेतृत्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।पूर्व विधायक निरज जिम्बाले आफ्नो शोक सन्देशमा कुमाईलाई शिक्षा, श्रमिक अधिकार तथा गोर्खा जातिको अस्तित्व र अस्मिताका लागि समर्पित अनुभवी व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक