भाषिक तथा सांस्कृतिक सीमारेखाबारे सन्त जोसेफ कलेज दार्जिलिङमा राष्ट्रिय सेमिनार सम्पन्न
भाषिक तथा सांस्कृतिक सीमारेखाबारे सन्त जोसेफ कलेज दार्जिलिङमा राष्ट्रिय सेमिनार सम्पन्न


दार्जिलिङ, 09 नोभेम्बर (हि.स.)। सन्त जोसेफ महाविद्यालय (नर्थ पोइन्ट), दार्जिलिङको अंग्रेजी विभागले आन्तरिक गुणस्तर सुनिश्चितता प्रकोष्ठ (आईक्यूएसी) सँगको सहकार्यमा ‘भाषा र संस्कृतिबीचका सीमारेखा : दार्जिलिङ पहाड तथा उत्तरपूर्वी भारतको कविता र कला’ विषयमा एकदिने राष्ट्रिय सेमिनार आयोजना गरेको छ। सेमिनारमा दार्जिलिङ, सिक्किम तथा उत्तरपूर्वी भारतका विभिन्न क्षेत्रबाट आएका साहित्यकार, कवि तथा कला क्षेत्रका विज्ञहरूले कविता, भाषा र कलाका विविध पक्षमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।

सेमिनारमा महाविद्यालयका विभिन्न विभागका विद्यार्थी तथा प्राध्यापकहरूका साथै कालेबुङ र मिरिकलगायतका महाविद्यालयबाट आएका शिक्षक एवं विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो। दार्जिलिङ पार्वत्य विश्वविद्यालयकी कुलपति प्रा. तेजिमाला गुरुङ नागको प्रमुख आतिथ्यमा सम्पन्न सेमिनारको प्रारम्भमा अंग्रेजी विभागका संयोजक तथा विभागाध्यक्ष प्रा. आशीष छेत्रीले अतिथि, स्रोतव्यक्ति तथा सहभागीहरूलाई स्वागत गर्दै सेमिनारको मूल विषयमाथि प्रकाश पारे। उनले यस कार्यक्रमले विभिन्न क्षेत्रबीच आवश्यक साहित्यिक तथा सांस्कृतिक संवादको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

यस अवसरमा डा. पथिक रोयले सेमिनारको विषयवस्तुमाथि विस्तृत रूपमा आफ्ना विचार प्रस्तुत गरे। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. तेजिमाला गुरुङ नागले उत्तरपूर्वी भारतको ऐतिहासिक, राजनीतिक तथा सामाजिक अवस्थाबारे विस्तृत चर्चा गरिन्। उनले उत्तरपूर्वी क्षेत्रको नामकरणको उत्पत्ति, विभिन्न राज्यहरूको गठन प्रक्रिया, विद्रोहका समस्या तथा उत्तरपूर्वी भारतमा गोर्खाहरूले सामना गरिरहेका नागरिकतासम्बन्धी चुनौतीहरूमाथि प्रकाश पारिन्।

यसैगरी प्रख्यात नेपाली कवि तथा साहित्यकार मनप्रसाद सुब्बाले वर्तमान समयमा कविताको अवस्था र उत्तरसंरचनावादी चिन्तनबारे आफ्नो विचार प्रस्तुत गरे। उनले आफ्नो कविता ‘पोएम फर अ पोएट’ मा कविको आवाज तथा भाषा आन्दोलनको प्रभावबाट सिर्जना भएको ‘ब्याकलास’ कविताबारे चर्चा गरे।

यस्तै प्रा. राजेन्द्र भण्डारीले कविताले अब लिनुपर्ने भावी दिशाबारे विचार राख्दै आफ्नो कविता ‘दिल्ली एन्ड आई’‌ को व्याख्या गरे। त्यसैगरी, पूर्वोत्तर भारतका कवि रोबिन सिंह न्गाङगोमले पूर्वोत्तर क्षेत्रको भूमि, लोककथा तथा मिथकमा आधारित कविताहरूले मुम्बईका कविहरूको विश्वव्यापी दृष्टिकोणमा आधारित कविताभन्दा फरक र सहज साहित्यिक अभिव्यक्ति प्रस्तुत गर्ने धारणा राखे।

कार्यक्रममा सिक्किमका प्राज्ञिक व्यक्तित्व तथा चित्रकार प्रा. पंकज थापाले चित्रकला तथा ग्राफिक्सले शब्दभन्दा प्रभावकारी ढङ्गले भाव अभिव्यक्त गर्न सक्ने र स्मरणशक्तिमा समेत सहयोग पुर्याउने विषयमा आफ्नो प्रस्तुति दिए। उनले ग्राफिक उपन्यास तथा कमिक्सको महत्त्वबारे पनि चर्चा गरे।

यसैक्रममा प्रा. बलराम उप्रेतीले भावनात्मक तथा ओजपूर्ण कविता प्रस्तुत गर्दै सेमिनारका शैक्षिक सत्रहरूको समापन गरे। अर्कोतिर कार्यक्रमलाई सफलीभुत बनाउन उपस्थिति हुने स्रोतव्यक्तिहरूलाई

फादर सुपेरियरले प्रमाणपत्र प्रदान गरे।

यस अवसरमा अंग्रेजी विभागका विद्यार्थीहरूले देउसी भैलोको आकर्षक प्रस्तुति दिएका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande