
कोलकाता, 23 फरवरी (हि.स.)। पश्चिम बंगालका राजनीतिमा ‘चाणक्य’ भनेर चिनिने वरिष्ठ राजनीतिज्ञ मुकुल रायको आइतबार राति निधन भएको छ। उनले ७१ वर्षको उमेरमा अन्तिम सास लिए। लामो समयदेखि मिर्गौला लगायत विभिन्न गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका मुकुल राय न्यू टाउनस्थित एक निजी अस्पतालमा भर्ना थिए। उनको निधनसँगै राज्यको राजनीतिमा शोकको लहर फैलिएको छ।
उनको निवास बाहिर समर्थक तथा विभिन्न राजनीतिक दलका नेताहरूको भीड जम्मा हुन थालेको छ। अस्पतालबाट पार्थिव शरीरलाई घर ल्याउने प्रक्रिया शुरु गरिएको छ।
मुकुल रायले आफ्नो राजनीतिक जीवनको शुरुवात कांग्रेसबाट गरेका थिए। पछि उनी राज्यको सत्तारूढ़ दल तृणमूल कांग्रेसमा आवद्ध भए। उनी तृणमूलका संस्थापक सदस्यहरूमध्ये एक थिए। संगठनलाई मजबुत बनाउन उनले खेलेको रणनीतिक भूमिकाका कारण उनलाई ‘बंगालको राजनीतिका चाणक्य’ पनि भनिन्थ्यो। एक समय उनलाई मुख्यमन्त्री ममता ब्यानर्जीको छायाँका रूपमा समेत हेरिन्थ्यो। उनले राज्यसभा सदस्यका रूपमा पनि दायित्व निर्वाह गरेका थिए र केन्द्र सरकारमा जहाजरानी तथा रेल मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
पछि उनी भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरे। सन् २०२१ को विधानसभा चुनाउमा कृष्णनगर उत्तर सिटबाट भाजपा उम्मेदवारका रूपमा विजयी भए। यद्यपि पछि उनले पुनः तृणमूल कांग्रेसमा फर्किए, तर विधायक पदबाट राजीनामा दिएनन्। यस कारण उनी औपचारिक रूपमा भाजपा विधायककै रूपमा कायम रहे।
उनी विधानसभा लोक लेखा समितिका अध्यक्ष पनि नियुक्त भएका थिए। उनको विधायक पदसम्बन्धी विवाद अदालतसम्म पुगेको थियो। कलकत्ता उच्च अदालतले उनको सदस्यता खारेज गर्ने आदेश दिएको थियो, तर यस निर्णयमा सर्वोच्च अदालतले अन्तरिम स्थगन दिएको थियो।
राजनीतिक उतार-चढावले भरिएको लामो सार्वजनिक जीवनपछि मुकुल रायले अन्ततः एक विधायकका रूपमा आफ्नो अन्तिम यात्रा पूरा गरे। उनको निधनले पश्चिम बंगालको राजनीतिले एक प्रभावशाली रणनीतिकार गुमाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल