
नयाँ दिल्ली, 26 फरवरी (हि.स.)। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले २६ फरवरीदेखि ७ मार्चसम्म भारत, अस्ट्रेलिया र जापानको भ्रमण गर्नेछन्। आफ्नो भारत भ्रमणका क्रममा उनी सबैभन्दा पहिले मुम्बई पुग्नेछन्।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणमा सबैभन्दा पहिले मुम्बई पुग्नेछन्। कार्नीको ओटावा कार्यालयद्वारा जारी वक्तव्यअनुसार, उनी मार्च २ मा दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। उक्त भेटमा व्यापार, ऊर्जा, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई), प्रतिभा र संस्कृति तथा रक्षा क्षेत्रहरूमा नयाँ साझेदारीबारे छलफल हुनेछ। यो भ्रमण क्यानाडा र भारतबीच व्यापार, प्रविधि, ऊर्जा र रक्षा क्षेत्रमा नयाँ साझेदारीतर्फको महत्वपूर्ण कदम मानिएको छ।
कार्नीको भारत भ्रमण शूरु हुनुअघि नै क्यानाडाले क्यानाडामा भएका हिंसात्मक अपराधमा भारतको अब कुनै भूमिका नरहेको जनाएको छ। टोरन्टो स्टारको एक समाचारअनुसार क्यानाडाका एक वरिष्ठ अधिकारीले बुधबार आयोजित प्रेस ब्रिफिङका क्रममा यस्तो बताएका हुन्। ती वरिष्ठ सरकारी अधिकारीहरूले ओटावा र नयाँ दिल्लीबीचको सम्बन्धबारे भने, “हाम्रोबीच धेरै बलियो कूटनीतिक सम्बन्ध छ र हामी विश्वस्त छौं कि त्यस्तो गतिविधि अब जारी छैन।”
उल्लेखनीय छ, सन् २०२३ मा भारत-क्यानाडा सम्बन्ध त्यतिबेला निकै बिग्रिएको थियो जब तत्कालीन क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले जुन २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारी एजेन्ट संलग्न रहेको आरोप लगाएका थिए। भारतले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आधारहीन र हास्यास्पद बताएको थियो। त्यसपछि सम्बन्ध यति चिसिएको थियो कि दुवै देशले व्यापार सम्झौताबारेको वार्ता रोके, कूटनीतिक सम्बन्ध कमजोर बनाए र एकअर्काका थुप्रै कूटनीतिज्ञलाई निष्कासन गरे।
अक्टोबर २०२३ मा भारतले ओटावास्थित आफ्ना राजदूत संजय वर्मा र अन्य पाँच अधिकारीलाई फिर्ता बोलाएको थियो। यो कदम क्यानाडाका अधिकारीहरूले निज्जरको हत्या प्रकरणमा उनीहरूसँग सोधपुछ गर्ने प्रयास गरेपछि उठाइएको थियो। यसको जवाफस्वरूप भारतले तत्कालीन कार्यवाहक उच्चायुक्त स्टीवार्ट ह्वीलरसहित छ जना क्यानाडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।
क्यानाडाको सत्ताबाट जस्टिन ट्रुडो बाहिरिएपछि नयाँ सरकारसँग भारतले सम्बन्ध सुधारका प्रयासहरू शुरु गरेको छ। प्रधानमन्त्री मोदीले जून २०२५ मा क्यानाडाको अल्बर्टा प्रान्तमा आयोजित जी ७ शिखर सम्मेलनका क्रममा आफ्ना क्यानाडाका समकक्ष मार्क कार्नीलाई भेटेका थिए। उक्त भेटले दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थपेको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी