नागपुरमा औद्योगिक विस्फोटक निर्माण कम्पनीको कारखानामा विस्फोट, १५ जनाको मृत्यु
Blast site


नागपुर, ०१ मार्च (हि.स.)। महाराष्ट्रको नागपुर जिल्लाको कळमेश्वर पुलिस थाना क्षेत्रअन्तर्गत राहूलगाउँस्थित एसबीएल एनर्जी लिमिटेड कम्पनीको कारखानामा आज बिहान भएको शक्तिशाली विस्फोटमा १५ जनाको मृत्यु भएको छ। नागपुर ग्रामीणका पुलिस अधीक्षक हर्ष पोद्दारले घटनाको पुष्टि गरेका छन्। घाइतेहरूको संख्या भने हालसम्म स्पष्ट हुन सकेको छैन।

नागपुरको कळमेश्वरस्थित एसबीएल एनर्जी लिमिटेड (पूर्व नाम स्पेशल ब्लास्ट लिमिटेड) देशको प्रमुख औद्योगिक विस्फोटक निर्माण कम्पनी हो। उक्त कम्पनीले खानी तथा पूर्वाधार परियोजनाहरूका लागि आवश्यक विस्फोटक सामग्री, डेटोनेटर तथा सम्बन्धित उत्पादनहरू निर्माण गर्दै आएको छ।

विस्फोट आइतबार बिहान करिब ५:३० बजे भएको बताइएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, विस्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो। घटनाको जानकारी पाएपछि नागपुरका जिलाधिकारी डा. विपिन इटनकर पनि घटनास्थलमा पुगेका थिए।

अधिकारीहरूका अनुसार, विस्फोटको यथार्थ कारण र घाइतेहरूको संख्या सम्बन्धमा हालसम्म स्पष्ट विवरण उपलब्ध छैन। अहिले राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। पुलिसले सम्पूर्ण छानबिनपछि मात्र आधिकारिक तथ्यांक सार्वजनिक गरिने जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande