
मुम्बई, 01 मार्च (हि.स.)। महाराष्ट्रको नागपुर जिल्लामा रहेको विस्फोटक पदार्थ बनाउने कारखाना एसबीएल एनर्जी लिमिटेडमा आइतवार बिहान भएको विस्फोटमा अहिलेसम्म 17 जनाको मृत्यु भएको छ भने 18 जना गम्भीर घाइते भएका छन्। घाइतेलाई तुरुन्तै नागपुर जिल्ला अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
स्थानीय मानिसहरू अनुसार, आइतवार बिहान लगभग 7.15 बजी कारखानाको डेटोनेटर प्याकिङ युनिटमा अचानक विस्फोट भयो। विस्फोट यति शक्तिशाली थियो कि युनिटमा तुरुन्तै ठूलो आगो लाग्यो र वरपरको क्षेत्रमा आतंक फैलियो। विस्फोटको आवाज धेरै किलोमिटर टाढ़ासम्म सुनियो, जसले गर्दा स्थानीयहरूमा त्रास फैलियो।
घटनाको जानकारी पाएपछि जिल्ला प्रशासन, पुलिस र अग्निशमन विभागका टोलीहरू घटनास्थलमा पुगे। राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ) का टोलीहरू पनि राहत र उद्धार कार्यका लागि खटिएका छन्।
पेट्रोलियम एवं विस्फोटक पदार्थ सुरक्षा संगठन (पीईएसओ) र औद्योगिक सुरक्षा तथा स्वास्थ्य निर्देशनालय (डीआईएएस) का अधिकारीहरू पनि घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्। भग्नावशेषमा फसेकाहरूलाई उद्धार गर्न निरन्तर खोजी कार्य भइरहेको छ। प्रशासनले मृत्यु हुनेको संख्या बढ्नसक्ने आशंका गरेको छ।
यसैबीच महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनालाई अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले प्रत्येक मृतकका आश्रितहरूलाई ₹5 लाख रूपियाँको आर्थिक सहयोगको घोषणा गरेका छन्। उनले सबै घाइतेहरूको राज्य सरकारको खर्चमा उपचार गरिने र घटनाको उच्चस्तरीय अनुसन्धान गरिने तथा जिम्मेवार व्यक्तिहरूमाथि कड़ा कारबाही गरिने बताएका छन्।
यो दुर्घटनाले विस्फोटक पदार्थ उत्पादन गर्ने एकाइहरूमा सुरक्षा मापदण्डमाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक आशंका गरिएको छ कि विस्फोट प्याकिङ युनिटमा प्राविधिक त्रुटि वा सुरक्षा नियमहरूको अभावका कारण भएको हुनसक्छ। यद्यपि, जाँच रिपोर्ट जारी भएपछि मात्र वास्तविक कारण स्पष्ट हुनेछ।
प्रशासनले कारखाना परिसर सिल गरेको छ र विस्तृत अनुसन्धान शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी