
सिलगढ़ी, 16 मार्च (हि.स.)। चुनाउ कार्यक्रमको घोषणा हुनसाथ सारा राज्यभरि नै व्यापक रूपमा चुनाउ प्रचार शुरू भएको छ। यसै क्रममा सोमवार बिहानदेखि सिलगढ़ीका विभिन्न क्षेत्रहरूमा भाजपा कार्यकर्ता अनि समर्थकहरूको पनि सक्रियता देख्न पाइयो। शहरमा भाजपाद्वारा भित्ते लेखन अभियान शुरू गरियो जहाँ पार्टीको झण्डा हातमा बोकेका कार्यकर्ताहरूलाई नारा लगाउँदै प्रचार गरेको देखियो।
यस भित्ते लेखन कार्यक्रममा सिलगढ़ीका वर्तमान भाजपा विधायक शंकर घोष पनि उपस्थित थिए। उनको उपस्थितिबाट कार्यकर्ता अनि समर्थकहरूमा उत्साह अझ थपिएको देखियो। पार्टीको नारा सहित सम्पूर्ण क्षेत्रमा भाजपाको समर्थनमा भित्तामा लेखियो। तथापि अहिलेसम्म सम्बन्धित सीटमा उम्मेद्वार घोषणा भएको छैन।
विधायक शंकर घोषले भने, राज्यका मानिसहरू अब परिवर्तन चाहन्छन्। सत्ताधारी तृणमूल कंग्रेसविरूद्ध भ्रष्टाचारको आरोप अब मानिसहरू सामु स्पष्ट भइसकेको छ। त्यसैले आम मानिसहरूले अब तृणमूललाई भोट दिने छैनन्। उनले यो पनि भने, उम्मेद्वारहरूको नाम घोषणाको लागि अब धेर प्रतिक्षा गर्नु पर्ने छैन। चाँड़ै नै पार्टीले उम्मेद्वारहरूको नाम घोषणा गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा