
गान्तोक, 16 मार्च (हि.स.)। सामाजिक कल्याण विभाग मन्त्री तथा लाचेन-मङ्गन क्षेत्रका विधायक साम्डुप लेप्चाले आज चुङथाङ क्षेत्रको भ्रमण गरे। उनले चुङथाङ बजार र स्थानीय चुङथाङ तासा टेङ्गे उच्चतर माध्यमिक विद्यालयको भ्रमण गरे।
भ्रमणका क्रममा मन्त्रीले विद्यालयका अधिकारीहरू, प्रधानाध्यापक, शिक्षकहरू तथा स्थानीय बासिन्दासँग अन्तरक्रिया गरे। उनले क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दाले व्यक्त गरेका समस्याहरू र चिन्ताहरू ध्यानपूर्वक सुने।
त्यसपछि उनले ग्लोफबाट प्रभावित सर्वसाधारणसँग भेटघाट गरे। धेरै स्थानीय बासिन्दाले आपदापछि आफुहरूले भोगिरहेका कठिनाई र चुनौतीहरूबारे जानकारी गराए। मन्त्रीले सरकार उनीहरूको अवस्थाबारे पूर्ण रूपमा जानकार रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको आश्वासन दिए।
मन्त्रीले सबैलाई धैर्य र साहसका साथ परिस्थितिको सामना गर्न तथा पुनःस्थापनाको प्रक्रियामा सरकारी निकायहरूसँग सहकार्य गर्न पनि आग्रह गरे। यस भ्रमणले मन्त्रीलाई क्षेत्रको वास्तविक अवस्था अझ राम्रोसँग बुझ्न सहयोग पुर्याउनुका साथै स्थानीय समुदायका समस्याहरू समाधान गर्न आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने अवसर प्रदान गरेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल