यानिक सिनरले जिते इन्डियन वेल्स २०२६ को उपाधि, जोकोविच-फेडररको विशेष क्लबमा सामेल
यानिक सिनर


नयाँ दिल्ली, १६ मार्च (हि.स.)। क्यालिफोर्नियामा आइतबार खेलिएको प्रतिष्ठित इन्डियन वेल्स २०२६ टेनिस टूर्नामेन्टको फाइनलमा इटालीका स्टार खेलाडी यानिक सिनरले रुसका दानिल मेदवेदेवलाई ७-६(६), ७-६(४) ले पराजित गर्दै आफ्नो पहिलो इन्डियन वेल्स उपाधि जितेका छन्।

क्यालिफोर्नियाको मरुभूमी क्षेत्रको मौसममा खेलिएको यस प्रतिस्पर्धामा सिनरले शानदार प्रदर्शन गर्दै पूरै खेलमा आफ्नो दबाउ कायम राखे। उनले खेलका दौरान २८ विनर्स र १० एस प्रहार गरे भने नेटमा खेलिएका सबै आठ अङ्कमा सफलता हासिल गरे।

यस जीतसँगै सिनर इतिहासमा सबै छ वटा एटीपी मास्टर्स १००० हार्ड-कोर्ट उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन्। यो उपलब्धिसँगै उनी टेनिसका दिग्गज नोभाक जोकोविच र रोजर फेडररको विशेष क्लबमा सामेल भएका छन्।

यो वर्षको उनको यो पहिलो उपाधि हो। यसका साथै उनी १९९० पछि लगातार दुईवटा मास्टर्स १००० उपाधि एउटा पनि सेट नगुमाई जित्ने पहिलो खेलाडी बनेका छन्। पेरिसमा गत वर्ष जितेको उपाधिबाट शुरु भएको उनको जीतको लय यस श्रेणीमा ११ खेलसम्म पुगेको छ।

पहिलो सेट निकै रोमाञ्चक रह्यो। मेदवेदेवले आक्रामक शुरुवात गर्दै सिनरमाथि लगातार दबाब बनाए र स्कोर ६-५ सम्म पुर्याए, तर सिनरले पुनरागमन गर्दै खेललाई टाइब्रेकरसम्म पुर्याए। टाइब्रेकरमा इटालेली खेलाडी बढी सटिक साबित भए र ७-६(६) ले पहिलो सेट आफ्नो नाममा गरे।

दोस्रो सेटमा पनि दुवै खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो। सिनरले पाँचौं गेममा कुनै पनि अङ्क नगुमाई ब्रेक लिएर ३-२ को अग्रता बनाए, तर मेदवेदेवले हार नमानी स्कोर ६-६ बनाए, जसका कारण खेल फेरि अर्को टाइब्रेकरमा पुग्यो।

टाइब्रेकरमा मेदवेदेवले ४-० को अग्रता बनाएका थिए, तर सिनरले शानदार पुनरागमन गर्दै लगातार अंक हासिल गरे र ७-४ ले टाइब्रेकर जित्दै खेल आफ्नो पक्षमा पारे।

खेलपछि सिनरले भने, मैले लगातार विश्वास कायम राखे र आफ्ना शटहरू खेल्ने प्रयास गरिरहे। यदि तेस्रो सेट भएको भए प्रतिस्पर्धा बराबरीबाट शुरु हुन्थ्यो, त्यसैले मैले खेल सकाउने पूरा प्रयास गरे र यो जीतबाट म निकै खुशी छु।

मेदवेदेवले टूर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सेमिफाइनलमा उनले विश्व नम्बर-१ कार्लोस अल्काराजलाई पराजित गर्दै ठूलो उलटफेर गरेका थिए र अस्ट्रेलियन ओपन च्याम्पियनको यस सिजनको १६ खेलको जीतको लयलाई पनि तोडेका थिए। यद्यपि, इन्डियन वेल्समा यो उनको तेस्रो फाइनल थियो र उनले फेरि एकपटक उपविजेतामा चित्त बुझाउनु पर्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande