
-भाजपाले गऱ्यो चुनाउ आयोगको बचाउ
कोलकाता, 16 मार्च (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउको कार्यक्रम घोषणा भएको तुरून्तैपछि शीर्ष प्रशासनिक तथा पुलिस अधिकारीहरूलाई फेरबदल गरिएकोमा राजनीतिक विवाद चर्किएको छ। सत्तारूढ़ तृणमूल कंग्रेसले यस फसेलाको विरोध गरेको छ भने भाजपाले चुनाउ आयोगको कदमलाई समर्थन गरेको छ।
गए आइतवार अबेर राती चुनाउ आयोगले राज्यकी मुख्य सचिव नन्दिनी चक्रवर्ती र गृह सचिव जगदीश प्रसाद मिणालाई पदबाट हटाउँदै उनीहरूको स्थानमा 1993 ब्याचका आईएएस अधिकारी दुश्यन्त नरियालालाई नयाँ मुख्य सचिव तथा 1997 ब्याचकी आईएएस अधिकारी संगमित्रा घोषलाई गृह एवं पार्वतीय मामिलाहरूकी प्रधान सचिव नियुक्त गरेको छ।
सोमवार बिहान आयोगले अर्को ठूलो फसेला लिँदै वरिष्ठ आईपीएस अधिकारी सिद्ध नाथ गुप्तालाई राज्यका नयाँ पुलिस महानिदेशक नियुक्त गऱ्यो भने पीयूष पाण्डेलाई पदबाट हटाइदियो। साथै कोलकाता पुलिस आयुक्त सुप्रतिम सरकारको स्थानमा अजय कुमार नन्दलाई नयाँ आयुक्त बनाइयो।
उपरोक्त फसेलाहरूको विरोधमा तृणमूल कंग्रेसका सांसदहरूले सोमवार राज्यसभाबाट वाकआउट गरे। पार्टी सांसद डेरेक ओ ब्रायनले भने, आधा रातमा मुख्य सचिव र गृह सचिव जस्ता शीर्ष अधिकारीहरूलाई हटाउनाले गम्भीर प्रश्न उत्पन्न गर्छ तथापि आयोगलाई यसो गर्ने अधिकार छ।
तृणमूल सांसद शताब्दी रायले भाजपामाथि चुनाउ जित्नको लागि सरकारी तन्त्रको दुरूपयोग गरेको आरोप लगाइन्। उनले भनिन्, जनता तृणमूल ंकंग्रेसको साथमा छन् र यस्तो कदमको जवाफ चुनाउमा पाइनेछ।
पार्टीकी अर्की सांसद सागरिका घोषले आरोप लगइन्, चुनाउ आयोगले आफ्नो शक्तिहरूको दुरूपयोग गरेर राज्यको निर्वाचित सरकारलाई कमजोर बनाउने चेष्टा गरिरहेको छ। उनले भनिन्, यस मुद्दालाई संसदमा उठाइएको छ र विरोधमा दिनभरि नै वाकआउट गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा