मुख्यमन्त्रीले सीपी भट्टराईलाई साहित्य अकादमीको लागि हार्दिक बधाई दिए
Prakash bhattarai


गान्तोक, 16 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रतिष्ठित साहित्य अकादमी पुरस्कारको लागि मनोनित भएकोमा साहित्यकार प्रकाश भट्टराईलाई दिए हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले नेपाली परम्परागत संस्कृति र सभ्यताको जीवन्त झल्को प्रस्तुत गर्ने उत्कृष्ट निबन्ध ‘नेपाली पारम्परिक, खोजमूलक संस्कृति र सभ्यताको ढिकुटी’ रचनाको लागि प्रकाश भट्टराई (चन्द्रप्रकाश शर्मा) लाई भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त हुने सुखद समाचारले आफुलाई अत्यन्तै हर्ष साथै गौरवको अनुभूति गराएको बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस महत्वपूर्ण तथा उल्लेखनीय उपलब्धिका लागि भट्टराईलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा उनले पुर्‍याएको योगदान अत्यन्त प्रशंसनीय, महत्वपूर्ण र प्रेरणादायी रहेको उल्लेख गरेका छन्। उनको यो सफलता सम्पूर्ण नेपाली भाषी समुदाय एवं समस्त शुभचिन्तकहरूका लागि एउटा गर्व साथै प्रेरणाको विषय बनेको उनले बताएका छन्।

मुख्यमन्त्रीले भट्टराईको साहित्यिक साधना तथा सिर्जनात्मक यात्रा अझ उचाइतर्फ निरन्तर अघि बढिरहोस् भन्ने हार्दिक कामनासहित उनको उत्तरोत्तर प्रगति, सु-स्वास्थ्य एवं उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande