
मेदिनीपुर, 17 मार्च (हि.स.)। नियुक्ति प्रक्रियामा कुनै पनि नियमलाई पालन गरिएन, न त कुनै नोटिस नै जारी गरियो। सो आरोप चन्द्रकोना सहकारी कृषि विकास समितिको प्रबन्धन बोर्डका केही सदस्यहरूले लगाएका हु्न्। यो आरोपपछि सहकारी समितिमा कर्मचारीहरूको नियुक्तिलाई लिएर विवाद शुरू भएको छ। नियुक्तिमाथि आपत्ति जनाउँदै समितिका सदस्यहरू गए सोमवार अपरान्ह बीडीओ समक्ष पुगे।
बितेको सोमवार यस सहकारी समितिमा तीन जना अस्थायी कर्मचारीहरूलाई नियुक्त गरियो। समितिको सूत्रानुसार यी तीनै कर्मचारीहरूले 18 मार्चदेखि काममा जोइन गर्नेछन्। नौ सदस्यीय प्रबन्धन बोर्डका तीन जना सदस्यहरूले यस किसिमले नियुक्ति गरिएको आरोप लगाएका छन्।
यस बारेमा सोमवार राती बोर्डका सदस्य बुद्धदेव दासले भने, बोर्डमा कुनै प्रकारको चर्चा नगरी सचिवले आफूले रूचाएका तीनजना मानिसहरूलाई नियुक्त गरे। उनले सेमितिका म्यानेजरलाई पत्राचार गरी यिनीहरूलाई नियुक्त गराए। कुनै प्रकारको विज्ञप्ति बिनै यो नियुक्ति गराइएको छ। हामीले यस मामिलाको जानकारी बीडीओलाई दिएका छौं। जिल्लाका सहकारी समितिहरूका सहायक रजिस्ट्रारलाई पनि यस सन्दर्भमा जानकारी गराएका छौं।
तथापि समितिका सचिव अशोक च्यटर्जीले उपरोक्त आरोपलाई अस्वीकार गरेका छन्। उनले भने, समितिमा कर्मचारीहरूको आवश्यकता छ, नत्र कामकाज ठप्प हुनेछ। बोर्डको निर्णयको आधारमै नियुक्ति गरिएको हो। तीनजना उम्मेद्वारहरूले आवेदन गरेका थिए, त्यसैले डेली बेसिसमा नियुक्त गरिएको छ। जिल्लाबाट मलाई जानकारी मागिएको छ जसको जवाफ दिइनेछ। यदि नियुक्ति अवैध पाइयो भने त्यसलाई रद्द गरिनेछ। उनको भनाइ छ, नियुक्ति गर्ने अधिकार बोर्डसित पनि हुन्छ।
नियुक्तिको विरोध गर्ने पाँचजना सदस्यहरूले भने, उनीहरूले नियुक्तिमाथि रोक लगाउनको लागि पहिला नै समितिलाई पत्र पठाएका थिए, तर त्यसको कुनै जवाफ दिइएन।
पश्चिम मेदिनीपुर जिल्ला रेञ्जका सहकारी सोसाइटीका एकजना अधिकारीले भने, नियुक्तिसित सम्बन्धित कुनै पनि सिकायत अहिलेसम्म प्राप्त भएको छैन। सिकायत पाउनसाथ आवश्यक कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा