
कोलकाता, ०२ मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ मार्चमा कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजना हुने भव्य मेगा र्यालीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त र्यालीक्षभाजपाको राज्य एकाइद्वारा सञ्चालन गरिएको ‘परिवर्तन यात्रा’ को औपचारिक समापन हुनेछ। यो यात्रा आइतबार राज्यका नौ विभिन्न स्थानबाट शुरु भइसकेको छ र पार्टीले यसमार्फत सबै २९४ विधानसभा क्षेत्र समेट्ने लक्ष्य लिएको छ।
भाजपाको यो महत्वाकांक्षी यात्रा आइतबारदेखि अघि बढेको हो। सोमबार पनि तीन जना केन्द्रिय मन्त्रीहरूको उपस्थितिमा यात्रा कार्यक्रम सञ्चालन हुँदैछ। यद्यपि ३ मार्चमा ‘डोल यात्रा’ र ४ मार्चमा ‘होली’ पर्व परेकाले ती दुई दिन कुनै र्याली आयोजना गरिने छैन। यात्रा ५ मार्चदेखि पुनः शुरु हुनेछ र राज्यभरि पुग्दै १५ मार्चमा प्रधानमन्त्री मोदीको र्यालीसँगै सम्पन्न हुनेछ।
भाजपाका एक राज्य समिति सदस्यका अनुसार, कार्यक्रम प्रधानमन्त्री कार्यालय (पीएमओ) का अन्तिम निर्देशनको अधीनमा रहेको छ, त्यसैले आवश्यक परे कार्यक्रममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।
यस यात्रामा केन्द्रिय गृहमन्त्री अमित शाह पनि सहभागी भइरहेका छन्। उनी सोमबार दक्षिण २४ परगना जिल्लाको रायदीघीमा आयोजित यात्रा शुभारम्भ कार्यक्रममा उपस्थित रहनेछन्। मूलतः यो र्याली आइतबारका लागि तय गरिएको थियो, तर पछि सोमबारका लागि सारिएको हो। १५ मार्चमा ब्रिगेड परेड ग्राउन्डमा हुने मुख्य र्यालीमा शाह सहभागी हुने कि नहुने भन्ने विषय अझै स्पष्ट भएको छैन।
यस यात्रामा भाजपाका अन्य शीर्ष नेताहरूले पनि सक्रिय भूमिका निर्वाह गर्नेछन्। तीमध्ये शिवराज सिंह चौहान, जेपी नड्डा, राजनाथ सिंह, नितिन गडकरी, धर्मेन्द्र प्रधान, पूर्व केन्द्रिय मन्त्री स्मृति ईरानी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस सामेल छन्।
राज्य समिति सदस्यका अनुसार, यो यात्रा राज्यमा सत्ता परिवर्तनको मागलाई तीव्र बनाउने महत्वपूर्ण माध्यम बन्न सक्छ। प्रधानमन्त्री मोदीको कोलकाता भ्रमणले पार्टी कार्यकर्तामा उत्साह भर्ने र मतदातालाई आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ। आगामी चुनाउको सन्दर्भमा यो कार्यक्रम विपक्षी दलहरूका लागि पनि चुनौतीपूर्ण सावित हुन सक्ने अनुमान गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी