
कोलकाता, ०२ मार्च (हि.स.)। पश्चिम एसियामा बढ्दो सैन्य तनावको प्रत्यक्ष असर हवाई सेवाहरूमा पनि परेको छ। सोमबार कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तरराष्ट्रिय हवाई अड्डा, दमदमबाट पश्चिम एसियाका विभिन्न देशहरूका लागि जाने धेरै उडानहरू रद्द गरिएका छन्। पाँच विमान कम्पनीका कुल २० उडानहरू रद्द हुँदा यात्रुहरूले ठूलो समस्या भोग्नुपरेको छ।
रद्द गरिएका उडानहरूमा इमिरेट्सका आठ, कतार एयरवेजका चार, इतिहाद एयरवेजका चार, एयर अरबियाका दुई र फ्लाई दुबईका दुई उडानहरू समावेश छन्। यी उडानहरू रद्द हुँदा दुबई, दोहा र अबू धाबी जाने यात्रुहरूको यात्रा प्रभावित भएको छ।
पश्चिम एसियाका प्रमुख हवाई अड्डाहरू, विशेष गरी दुबई जस्ता शहरहरू अन्तरराष्ट्रिय हवाई यात्राका लागि महत्वपूर्ण ट्रान्जिट केन्द्र मानिन्छन्। भारतबाट युरोप र अमेरिका जाने ठूलो संख्यामा यात्रुहरू यिनै हवाई अड्डाहरू हुँदै यात्रा गर्छन्। कोलकाताबाट पनि यी केन्द्रहरूका लागि नियमित सोझो उडानहरू सञ्चालन हुन्छन्, तर हालका तनावपूर्ण अवस्थाका कारण सेवाहरू बाधित भएका छन्।
केवल कोलकाता मात्र होइन, दिल्ली, बेङलुरु र चेन्नईका हवाई अड्डाहरूबाट पनि पश्चिम एसियातर्फका धेरै उडानहरू रद्द गरिएका छन्। पश्चिममा बढ्दो तनावका कारण धेरै प्रमुख शहरहरूका लागि हवाई सेवाहरू अस्थायी रूपमा स्थगित गरिएका छन्।
यो अवस्थाका कारण भारतबाट जाने यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् भने पश्चिम एसियाका विभिन्न देशहरूमा फसेका भारतीयहरू भिसा र फर्कने विषयमा चिन्तित छन्। यस विषयमा केन्द्र सरकारको सुरक्षा समितिको बैठकमा छलफल भएको छ, जसमा विदेशमा फसेका भारतीयहरूको सुरक्षित फिर्तीका उपायहरूमा विचार गरियो।
विदेश मन्त्रालयले पश्चिम एसियामा तनाउका कारण भारतमा रहेका विदेशी नागरिकहरूलाई चिन्ता नगर्न आग्रह गरेको छ। सरकारले भिसा अवधि बढाउने र भारतमा उनीहरूको बसोबासको व्यवस्था सुनिश्चित गर्न हरसम्भव सहयोग गर्ने आश्वासन दिएको छ।
--------------------
हिन्दुस्थान समाचार / भवानी थामी