
सिलगढ़ी/जलपाईगुड़ी, 24 मार्च (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी मंगलवार चुनाउ प्रचारका लागि उत्तर बंगाल आइरहेकी छन्। जानकारी अनुसार उनी हासीमारादेखि हेलिकप्टरको माध्यमबाट चालसा आइपुग्नेछन् जहाँ नागराकाटा विधानसभा सीटबाट पार्टी उम्मेद्वार सञ्जय कुजूरको समर्थनमा एक चर्चामा गएर इसाई समुदायसित समर्थनको निम्ति अपील गर्नेछन्।
त्यसपछि बुधवार बिहान मुख्यमन्त्री ब्यनर्जीले मयनागुड़ी टाउन क्लब मैदानमा उम्मेद्वार राममोहन रायको समर्थनमा आफ्नो पहिलो जनसभालाई सम्बोधन गर्नेछन्। यसै दिन उनले जलपाईगुड़ी जिल्लाको डाबग्राम-फुलबाड़ी तथा दार्जीलिङ जिल्लाको माटीगाड़ा-नक्सलबाड़ी सीटमा पनि पार्टी उम्मेद्वारहरूको समर्थनमा सभाहरू गर्नेछन्।
तृणमूल कंग्रेसले यी सबै कार्यक्रमहरूलाई लिएर व्यापक तयारी गरेको छ भने प्रशासनको पक्षबाट पनि सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा