
गान्तोक, 26 मार्च (हि.स.)। सिक्किमको पहिलो हवाई अड्डा पाकिम ग्रीनफिल्ड एयरपोर्टको नामकरण स्वतन्त्रता सेनानी त्रिलोचन पोख्रेलको नाममा गर्ने प्रस्ताव पारित गरिएको छ। सिक्किम विधानसभाको एक दिवसीय सत्रमा आज पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटियाले पाकिम हवाई अड्डाको पुन: नामकरण 'त्रिलोचन पोख्रेल एयरपोर्ट' गरिनु पर्ने सरकारी प्रस्ताव सदनमा पेश गर्ने, जुन सर्वसम्मतिद्वारा पारित गरियो।
त्रिलोचन पोख्रेल, जो बन्दे पोख्रेल र गॉंधी पोख्रेलको नाम पनि चिनिन्छन्, को जन्म पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत तारेथाङमा भएको थियो। उनलाई भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिने पहिलो सिक्किमे मानिन्छ। उनी असहयोग आन्दोलन, नागरिक अवज्ञा आन्दोलन, भारत छोडो आन्दोलन जस्ता राष्ट्रिय आन्दोलनहरूमा सहभागी बनेका थिए। उनले सिक्किमभरि खादी र स्थानीय उद्योगहरूको प्रयोगलाई प्रोत्साहित गर्दै सरलता, आत्मनिर्भरता र अहिंसाको गान्धीवादी आदर्शलाई पनि प्रवर्द्धन गरेका थिए।
यस प्रस्तावले सिक्किमलाई बृहत् भारतीय स्वतन्त्रता संग्रामसँग जोड्न, क्षेत्रीय इतिहासको संरक्षण गर्न र भावी पुस्तालाई प्रेरणा दिन उनको भूमिकालाई जोड दिन्छ। सिक्किम मन्त्रिपरिषद्ले 19 मार्च, 2026 मा प्रस्तावलाई अनुमोदन गरेको थियो भने आज सदनमा औपचारिक रूपमा पारित गरियो। विधानसभाले भारत सरकारलाई उनको विरासतलाई स्थायी श्रद्धाञ्जलि प्रदान गर्न हवाईअड्डाको आधिकारिक नामकरण गर्न सिफारिस गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल