बर्ड फ्लु सम्बन्धी तयारीको समीक्षा गर्न मंगनका जिल्लापालले गरे समन्वय बैठक
Meeting regarding bird flu


मङ्गन, 05 मार्च (हि.स.)। एच५एन१ एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लुको रोकथाम तथा तयारीबारे छलफल गर्न आज जिल्लापाल कार्यालय मङ्गनमा एक समन्वय बैठक आयोजना गरियो। यो बैठक काबी ब्लक अन्तर्गत गाइखाना वार्ड नजिक फेला परेको एउटा उल्लुको मृत शरीरमा उक्त भाइरस देखिएपछि बोलाइएको हो। अधिकारीहरूले जानकारी दिएअनुसार, हालसम्म यो घटना जङ्गली चरामा मात्र सीमित रहेको छ र जिल्लामा घरेलु कुखुरा वा पशुधनमा कुनै संक्रमण देखिएको छैन।

बैठकमा रोकथाम, नियन्त्रण तथा निगरानी सम्बन्धी उपायहरूबारे विस्तृत छलफल गरियो। यस क्रममा निर्धारित प्रोटोकल अनुसार सम्भावित कन्टेनमेन्ट क्षेत्रहरू पहिचान गर्ने विषयमा पनि विचार गरियो। सम्बन्धित विभागहरूलाई अवस्थामाथि नजिकबाट निगरानी राख्न निर्देशन दिइएको छ।

बैठकमा मंगनका जिल्लापाल अनन्त जैनले सर्वसाधारणलाई असामान्य रूपमा चरा मरेको देखिएमा तुरुन्त स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरे। उनले मृत चरालाई हात नलगाउन तथा भुइँमा भेटिएका चराको नजिक नजान पनि सुझाउ, किनकि संक्रमित चराले उड्ने क्षमता गुमाउन सक्छ।

पशुपालन तथा पशु चिकित्सा सेवा विभागकी अतिरिक्त निर्देशक दिछेन ओ काल्योनले वर्तमान अवस्थाबारे जानकारी दिँदै घरेलु प्रजातिमा संक्रमण नदेखिए पनि जंगली उल्लुमा संक्रमण भेटिनुले सतर्कता आवश्यक भएको बताइन्।

जिल्ला अस्पताल मङ्गनकी मुख्य चिकित्सक अनिता भोटियाले केही स्थानबाट कुखुराको मासु सेवन गरेपछि फ्लुजस्ता लक्षण देखिएको घटनाहरू रिपोर्ट भएको र त्यसका नमुना परीक्षणका लागि पठाइएको जानकारी दिइन्। यद्यपि ती सामान्य ब्याक्टेरियल वा भाइरल संक्रमण पनि हुन सक्ने र हालसम्म मानिसमा भाइरस पुष्टि नभएको बताइन्।

अधिकारीहरूले सम्भावित प्रभावित क्षेत्रका जनतामा सचेतना फैलाउन, विवाहजस्ता सामाजिक कार्यक्रमहरूमा कुखुराको मासु खरिद वा सेवन नगर्न सुझाउ दिन तथा फ्लुजस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा जान प्रोत्साहित गर्न पनि आग्रह गरिएको छ।

जिल्लापालले हालका लागि डराउनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै सम्बन्धित सबै निकायलाई सतर्क रहन र आवश्यक परे तुरुन्त प्रतिक्रिया दिन तयार रहन आग्रह गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande