
मङ्गन, 05 मार्च (हि.स.)। ‘थिटेन’ को शुभ अवसरमा आज रिक्जिङ पेमा ओङ्गदा दोर्जी पाँचौं लाचेन गोम्छेन रिन्पोछेलाई लाचेनको पवित्र जिम्मेवारी औपचारिक रूपमा प्रदान गरियो। कार्यक्रममा धर्म विभाग मन्त्री सोनाम लामा, वन तथा पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा, समाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा लगायत अन्य विशिष्ट व्यक्तिहरू, वरिष्ठ लामाहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रमको शुरुवात वरिष्ठ लामाहरूद्वारा पवित्र अनुष्ठान र प्रार्थनाबाट गरियो, जसमा लाचेन क्षेत्रको शान्ति, समृद्धि र सद्भावका लागि आशीर्वाद आह्वान गरिएको थियो। पवित्रता, जिम्मेवारी र आध्यात्मिक नेतृत्वलाई निरन्तरता दिॅंदै परम्परागत विधिअनुसार अर्पणहरू गरियो। यसपछि रिम्पोछेलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरियो।
समारोहमा सहभागी भएका ज्येष्ठ नागरिकहरूले आशीर्वाद प्रदान गर्दै यस ऐतिहासिक क्षणको साक्षी बन्न पाएकोमा खुशी व्यक्त गरे। गाउँका युवाहरूले पनि उत्साहपूर्वक सहभागिता जनाउँदै पुस्तान्तरबीचको सम्मान र एकतालाई झल्काएका थिए। समारोहको समापन पाँचौँ लाचेन गोम्छेन रिम्पोछेको दीर्घायु तथा लाचेन क्षेत्रको निरन्तर शान्ति, समृद्धि र विकासका लागि प्रार्थनासहित गरियो। यो शुभ अवसर लाचेनको आध्यात्मिक तथा सांस्कृतिक इतिहासमा एक महत्वपूर्ण र स्मरणीय उपलब्धिका रूपमा रहने विश्वास व्यक्त गरिएको डीआईओ मङ्गनले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल