
पुरुलिया, 05 मार्च (हि.स.)। जिल्लाको कोटशिला थाना अन्तर्गत खैरी गाउँका निवासी एवं प्रवासी मजदुर अनादी महतो (35)- को बेंगलुरुमा मृत्यु भयो। त्यहाँको भातुरा थाना क्षेत्रस्थित एक संस्थामा तिनले खाना पकाउनेको रूपमा काम गर्दै आएका थिए।
सूत्र अनुसार अनादी पछिल्लो 6-7 वर्षदेखिकै बेंगलुरूमा कार्यरत थिए भने दिनहुँ बिहान लगभग 4 बजी उठेर काम शुरू गर्नअघि आफ्नी पत्नी प्रीतिलता महतोसित फोनमा बातचित गर्दथे। परिवारजन अनुसार गत मंगलवार बिहान निर्धारित समयमा फोन नआएपछि प्रीतिलताले आफै फोन गरिन्। फोन अन्य कसैले उठायो अनि बतायो, राति अचानक अनादीको स्वास्थ्य बिग्रिएको थियो जसपश्चात उसको मृत्यु भयो।
प्रीतिलताले बताइन्, एक दिनअघि राति लगभग 11 बजीसम्म उनको अनादीसित बातचित भएको थियो र त्यसबेला तिनले आफू अस्वस्थ भएको कुरा उल्लेख गरेका थिएनन्।
अनादीका सालो चित्तरञ्जन महतोले बताए, तिनलाई अस्पतालमा भर्ती गरिएको थियो, तर मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन। मृत्यु भएको खबर गाउँमा पुग्नसाथ गए बुधवार जिल्ला तृणमूल नेता शान्तिराम महतो र श्रमिक नेता उज्जवल कुमारले घरमा पुगेर परिवारसित भेट गरे। उनीहरूले बताए, तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले शवलाई गाउँमा ल्याउने व्यवस्थामाथि निगरानी राखेका छन्। पोस्टमर्टमपछि अनादीको शवलाई विमान मार्फत राँची हुँदै गाउँमा ल्याउने योजना बनाइएको थियो। तर शुरूमा शवको मात्र टिकट काटेको जानकारी पाइएपछि परिवारले आपत्ति जनाएको थियो। पछि अनादी काम गर्ने संस्थाले दुईजना मानिसहरूको पनि टिकटको व्यवस्था गरिदियो।
यस्तै कतिपय ढिल्याईको कारण बुधवार गाउँमा शव आइपुग्न सकेन, त्यसैले बिहीवार आइपुग्ने सम्भावना छ। अनादीको परिवारमा पत्नी सहित 6 वर्षीय छोरी रूबी र तीन वर्षीय छोरो भुवन छन्। परिवारको एकमात्र कमाउने सदस्यको मृत्यु भएपछि पत्नी प्रीतिलता नानीहरूको भविष्यलाई लिएर चिन्तित छन्।
स्थानीय नेताहरूले परिवारलाई राज्य सरकारको पक्षबाट सहायता दिलाउने आश्वासन दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा