
खरसाङ, 05 मार्च (हि.स.)। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको एक प्रतिनिधि मण्डलले बिहिवार खरसाङ महकुमा शासकसित भेट गरी वर्तमानमा चलिरहेको मतदाता विशेष गहन पुनरीक्षणको सम्बन्धमा एक ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा विशेष गरी मतदाता नामावलीबाट नाम हटाइएको तथा न्यायिक जाँचको प्रक्रियामा (अण्डर एडजुडिकेशन) मा राखिएका विषयमा ध्यानाकर्षण गराइएको छ।
भाजपा प्रतिनिधि मण्डलले एसआईआर सम्बन्धमा धेरै वास्तविक तथा योग्य मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको वा न्यायिक जाँचको प्रक्रियामा राखिएको विषयले जनतामाझ अन्योल र चिन्ता उत्पन्न गरेको उल्लेख गर्दै यस विषयमा प्रशासनले गम्भीरतापूर्वक छानबीन गर्नुपर्ने माग गरेको छ।
ज्ञापन पत्रमार्फत सम्बन्धित अधिकारीहरूलाई मतदाता सूचीको पारदर्शी रूपमा पुनः जाँच गरी वास्तविक मतदाताहरूलाई कुनै प्रकारको अन्याय वा असुविधा नहोस् भन्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला महासचिव सोनाम लामाले भने, एसआईआरलाई लिएर भ्रम फैलाउने काम भइरहेको छ। यस विषयमा वास्तविक कुरा बुझ्न एईआरओसित भेटघाट गर्नलाई आएका थियौँ। यस विषयमा प्राप्त जानकारी अनुसार (अण्डर एडजुडिकेशन) न्यायिक जाँचको प्रक्रियामा रहेको सबै जजको हातमा पुगेको र उहाँहरुले नै निर्णय गर्ने बताइएको छ।
महासचिव सोनाम लामाले एसआईआरमा खरसाङ महकुमामा जम्मा 2 लाख 21 हजार 235 मा 1 हजार 475 डिलिट भएको र 14 हजार 534 जनाको अण्डर एडजुडिकेशन न्यायिक जाँचको प्रक्रियामा रहेको जानकारी गराए। उनले डिलिट भएकाहरुको कतिजनाको सुनवाईमा नआएको र डकुमेन्टहरु पनि नआएको जानकारी प्राप्त भएको बताए। उनले वैध कागज पत्रहरु हुनेहरूलाई सहयोग गर्न तयार रहेको उनले बताए।
हिन्दुस्थान समाचार / हनोक