
गान्तोक, 05 मार्च (हि.स.)। नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले विकास क्षेत्रस्थित परिषद्को आफ्नो भवनमा आज नेसाप सिक्किमको १४औँ कार्यकारिणी समितिको एक महत्वपूर्ण बैठक परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न गऱ्यो। बैठकमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीको उत्साहजनक र सक्रिय उपस्थिति रहेको जानकारी परिषदका प्रचारप्रसार सचिव हेमराज अधिकारीले दिएका छन्।
ठकले हालै सम्पन्न परिषद्को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण मतदाता महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै साहित्यप्रेमी समुदायले परिषद्प्रति दर्शाएको विश्वास र सद्भावप्रति उच्च सम्मान प्रकट गरेको छ।
बैठकको निर्णयअनुसार परिषद्को कार्यलाई थप सुदृढ, प्रभावकारी तथा गतिशील बनाउने उद्देश्यले विभिन्न क्षेत्रका प्रतिष्ठित र अनुभवी व्यक्तित्वहरूलाई समेट्दै ६ सदस्यीय मनोनयन समितिमार्फत कार्यकारिणी समितिमा मनोनयन गरिने निर्णय लिइयो। मनोनीत कार्यकारिणी सदस्यहरूमा उषा शर्मा, रुपा तामाङ, जोसेफ लेप्चा, कुबेर विष्ट, शुक्रराज राई (एरोन) र डीआर गिरी सामेल छन्।
यसैगरी, नेपाली साहित्यको परिषद्को संवर्द्धन र प्रवर्द्धनमा सेवा पुऱ्याउँदै आएका १३ जना सर्जकलाई परिषद्को मानार्थ सदस्यको रूपमा नियुक्त गरिने निर्णय लिइयो। नेपाली साहित्य परिषद्ले ५ जना वरिष्ठ प्रतिष्ठित व्यक्तित्वलाई परिषद्को सल्लाहकारका रूपमा मनोनीत गर्ने निवेदन समेत गरेको उल्लेख छ।
बैठकको प्रारम्भमा परिषद्का महासचिव भीम रावतले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबै सदस्यहरूलाई स्वागत जनाउनुका साथै परिषद्को भावी कार्यदिशा र दायित्वबारे संक्षिप्त प्रकाश पारेका थिए। अध्यक्ष हरि ढुङ्गेलले नवगठित कार्यकारिणी समितिलाई आफ्नो–आफ्नो दायित्व, उत्तरदायित्व र कर्तव्यबोधका सम्बन्धमा स्पष्ट मार्गदर्शन प्रदान गर्दै परिषद्को गरिमा र उद्देश्य अनुरूप समर्पित भएर कार्य गर्न आग्रह गरे।
बैठकमा परिषद्को आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्दै अनुवाद साहित्य, लोक साहित्य, वाद्यवादन, बाल साहित्य, कृति विमोचन कार्यक्रम तथा विद्यार्थीमुखी साहित्यिक गतिविधिहरूको विस्तार र प्रवर्द्धन गर्ने विषयमा समेत सार्थक परिचर्चा गरिएको छ।
नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा परिषद्ले अझ प्रभावकारी, व्यापक र सशक्त रूपमा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल