पवन चामलिङले झूटको खेती गरेर राजनीति गर्ने आद्त अझै नत्यागेको एसकेएमको आरोप
पवन चामलिङले झूटको खेती गरेर राजनीति गर्ने आद्त अझै नत्यागेको एसकेएमको आरोप


गान्तोक, 05 मार्च (हि.स.)। विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले पार्टीको 34औं स्थापना दिवसमा दिएका बयानहरूप्रति सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले कड़ा प्रतिक्रिया जनाएको छ।​ विशेष रूपमा एसडीएफ अध्यक्षले एसकेएम सरकारमाथि लगाएका विभिन्न आरोपहरूको खण्डन गर्दै एसकेएम नेतृत्वहरूले चामलिङमाथि झूटको खेती गरेर राजनीति गर्ने आद्त अझै नछोड़ेको आरोप लगाएका छन्।

राजधानीस्थित एसकेएम मुख्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा एसकेएम प्रवक्ता जेकब खालिङले एसडीएफ अध्यक्ष पवन चामलिङमाथि पार्टी स्थापना दिवसमा 99 प्रतिशत झूटा कुरा गरेको आरोप लगाए। एसपीएससी परीक्षालाई लिएर चामलिङले लगाएका आरोपहरूको खण्डन गर्दै खालिङले भने, 'पवन चामलिङलाई एसपीएससीको बारेमा बोल्ने नैतिक अधिकार छैन। कारण, एसपीएससीमा सबैभन्दा धेरै गडबडी एसडीएफको 25 वर्षे शासनमा भएको छ। एसपीएससीलाई स्वतन्त्ररूपमा चल्न दिइएन।' उनले एसडीएफ सरकारमा एसपीएससीलाई राजनीतिकरण गरिएको आरोप पनि लगाए।

एसडीएफ अध्यक्षले 'सिक्किम न्यू डील मिशन' को घोषणा गर्दै डिरेल भएको सिक्किमलाई ट्र्याकमा ल्याउन काम गर्ने बताएका थिए। उनको यस घोषणाप्रति प्रतिक्रिया व्यक्त गर्दै प्रवक्ता खालिङले एसडीएफको 25 वर्षे शासनमा ​सिक्किम डिरेल भएको थियो भने एसकेएम सरकारले ट्र्याकमा ल्याउने काम गरिरहेको बताए। यसैगरी, चामलिङले सिक्किमलाई ट्र्याकमा नफर्काएसम्म राजनीतिमा सक्रिय रहनेछु भनी गरेको घोषणाप्रति पनि उनले कड़ा प्रतिक्रिया जनाए।

एसडीएफले आफ्नो 25 वर्षको शासनमा राज्यभरि अरबौं रूपियॉंका भवनहरू निर्माण गरेको र ती सबै भवनहरू एसडीएफ ट्रस्टको नाममा पञ्जीकृत रहेको प्रवक्ता खालिङले दाबी गरे। एसडीएफ पार्टी अध्यक्ष नै ट्रस्टको पनि अध्यक्ष हुने हुनाले चामलिङले राजनीति नछोड्ने घोषणा गरेको उनले ठोकुवा गरे। चामलिङले पार्टीको अध्यक्ष पद त्याग्ने बित्तिकै अरबौंको सम्पत्ति पनि गुमाउनु पर्ने हुनाले उनले राजनीतिमा रहिरहने घोषणा गरेको खालिङले बताए। अरबौंको सम्पत्तिकै कारण चामलिङले भविष्यमा पार्टीको बागडोर पनि आफ्नै परिवारका सदस्यलाई जिम्मा लगाउने उनले दाबी गरे।

यस अतिरिक्त, चामलिङले घोषणा गरेको सामाजिक आर्थिक जन केन्द्रित नीतिको बारेमा बोल्दै प्रवक्ता खालिङले जन केन्द्रित नीतिको नाममा चामलिङले आफ्नो परिवार केन्द्रित काम गरेको जनताले एसडीएफको 25 वर्षे शासनमा देखिसकेको बताए। एसडीएफले आफ्नो सरकार आएको खण्डमा 70 प्रतिशत बजेट गाउॅंमा खर्च गर्ने चामलिङको घोषणाबारे बोल्दै वर्तमान एसकेएम सरकारले विभिन्न योजनाहरूको माध्यमद्वारा 90 प्रतिशत बजेट गाउॅंमा पुऱ्याउने काम गरिरहेको दाबी गरे।

यस अघि, प्रवक्ता बिकास बस्नेतले सिक्किमका स्वतन्त्रता सेनानी बन्दे पोख्रेल (त्रिलोचन पोख्रेल) लाई लिएर एसडीएफ अध्यक्षले दिएको बयानको भर्त्सना जनाए। भारत सरकारले त्रिलोचन पोख्रेललाई स्वतन्त्रता सेनानीको मान्यता दिएको छैन भनेर चामलिङले विवाद सृजना गरेको उनले आरोप लगाए। एसडीएफ अध्यक्षले स्वतन्त्रता सेनानी र उनका परिवारको अपमान गरेको बताउॅंदै उनले आफ्नो बयानका लागि माफी माग्नुपर्छ भनी बताए।

चामलिङले बन्दे पोख्रेलको सट्टामा पूर्व मुख्यमन्त्री स्वर्गीय नर बहादुर भण्डारीको नाममा पाकिम हवाई अड्डाको नामकरण गर्न सकिने सुझाउ राखेको विषयमा बोल्दै प्रवक्ता बस्नेतले चामलिङको आलोचना गरे। आफ्नो 25 वर्षको शासनमा नर बहादुर भण्डारीलाई गाली गर्ने व्यक्तले आज भण्डारीको नाममा हवाई अड्डाको नामकरणको कुरा गरेर राजनीति गरिरहेको उनले आरोप लगाए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande