
खरसाङ, 06 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको आयोजनामा आज चुनाउ कमिटी गठनलाई लिएर घुम्ती कमानको 266 बुथमा एक सभा आयोजन गऱ्यो। आगामी चुनाउलाई ध्यानमा राख्दै समष्टिका 22 वटै बुथहरुमा चुनाउ कमिटी गठनको कार्य शुरु गरिएको छ।
सभा घुम्ती चियाबारीको बुथ नम्बर 266 मा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। सभालाई भागोप्रमो महानदी तीनधारे समष्टिका सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, नारी शक्ति समष्टि सभापति निरा प्रधान, सभाध्यक्ष पासाङ शेर्पा आदिले सम्बोधन गरेका थिए।
सभामा घुम्ती चियाबारीको बुथ नम्बर 266 मा चुनाव कमिटी गठन गरियो। यस चुनाउ कमिटीमा मुख्य संयोजक विशाखा राई, सह संयोजकहरु क्रमैले कृष्ण प्रधान, राजेन प्रधान, अर्पण छेत्री, मणिकुमार राईसहित 37 जनाको चुनाउ कमिटी गठन गरिएको प्रवक्ता बिपन विश्वकर्मले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक