सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करणको उद्घाटन 26 अप्रेलमा
सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करणको उद्घाटन 26 अप्रेलमा


गान्तोक, 06 मार्च (हि.स.)। सिक्किम कला तथा साहित्य महोत्सवको आगामी दोस्रो संस्करणलाई लिएर आज राजधानीको मनन केन्द्रमा एक समन्वय बैठक आयोजन गरियो। बैठकमा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा मुख्य अतिथि तथा विधायक आदित्य गोले विशिष्ट अतिथि थिए।

मुख्य अतिथि विधायक बर्फुङ्गपाले आफ्नो सम्बोधनमा आगामी महोत्सवको तयारीमा विभिन्न विभागहरूको समन्वित प्रयासहरूको प्रशंसा गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारले कला, साहित्य र सांस्कृतिक अभिव्यक्तिलाई मनाउने मञ्चहरू प्रदान गर्दै रचनात्मक अर्थतन्त्रलाई बलियो बनाउने पहलहरूलाई प्रोत्साहन गरिरहेको बताए।

उनले सिक्किम कला तथा साहित्य महोत्सवले राज्यको समृद्ध सांस्कृतिक सम्पदा, साहित्यिक परम्परा र जीवन्त कलात्मक समुदायलाई व्यापक दर्शकसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए। उनले सहकार्यको महत्त्वमा जोड दिँदै महोत्सवको सहज र सफल सञ्चालन सुनिश्चित गर्न सबै सरोकारवालाहरूबीच निरन्तर समन्वयको लागि आह्वान गरे।

स्रोतवक्ताका रूपमा उपस्थित फेस्टिभल्स एण्ड स्पेशल प्रोजेक्टस्, टिमवर्क आर्ट्स सैयद शम्स जावेदले महोत्सवको उद्घाटन 26 अप्रेल, 2026 साँझ गान्तोकको रिज पार्कमा हुने जानकारी दिए। उनले तीन दिने महोत्सवमा दिनभरि धेरै स्थानहरूमा लगभग २२ सत्रहरू र पाँच देखि छ अन्तरक्रियात्मक कार्यशालाहरूका साथै विविध सांस्कृतिक अभिव्यक्तिहरू मनाउने संगीतमय साँझको कार्यक्रम पनि हुने बताए।

बैठकमा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, मुख्यमन्त्री अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा, कौशल विकास तथा उद्यमशीलता विभागका ओएसडी रिवाज छेत्री, सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले, आबकारी विभागकी सचिव यीस्से डोमा योङ्गदा, शिक्षा विभाग (विद्यालय शिक्षा) का सचिव टाशी छोपेल लेप्चा, पर्यटन तथा नागरिक उड्डयन विभागकी सचिव होन्डाला ग्याल्छेन, गान्तोकका जिल्लापाल तुषार निखारे तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande