
नयाँ दिल्ली, 07 मार्च (हि.स.)। पश्चिम एसियामा जारी सैन्य तनाउ तथा होर्मुज जलडमरूमध्य हुँदै आयात हुने तरल प्राकृतिक ग्यास (एलएनजी)को आपूर्तिमा असर परेपछि घरेलु रसोई ग्यास अर्थात् एलपीजी (तरलीकृत पेट्रोलियम ग्यास) सिलिन्डरको मूल्य बढाइएको छ। घरेलु एलपीजी सिलिन्डरको मूल्यमा ६० रुपियाँ र व्यावसायिक सिलिन्डरमा ११४.५ रुपियाँ वृद्धि गरिएको छ। नयाँ दर शनिबारदेखि लागू भएको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) का अनुसार राष्ट्रिय राजधानी नयाँ दिल्लीमा अब बिना सब्सिडीको १४.२ किलोग्राम घरेलु एलपीजी सिलिन्डरको मूल्य ८५३ रुपियाँबाट बढेर ९१३ रुपियाँ पुगेको छ। यो पछिल्लो ११ महिनामा दोस्रो पटक मूल्यवृद्धि हो। यसअघि ८ अप्रिल २०२५ मा घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपियाँ बढाइएको थियो।
पश्चिम एसियामा जारी सैन्य संघर्ष तथा विश्व ऊर्जा बजारमा आएको मूल्यवृद्धिका कारण ग्यासको लागत बढेको बताइएको छ, जसका कारण मूल्य बढाउनु परेको हो। होर्मुज जलडमरूमध्य हुँदै आयात हुने एलएनजीको आपूर्तिमा परेको प्रभावलाई पनि यसको प्रमुख कारण मानिएको छ।
आईओसीका अनुसार, विभिन्न राज्यमा स्थानीय बिक्री कर वा मूल्य अभिवृद्धि कर (भ्याट) को दरका आधारमा एलपीजीको मूल्य फरक-फरक हुन्छ। नयाँ दरअनुसार, मुम्बईमा १४.२ किलोग्रामको घरेलु एलपीजी सिलिन्डर ९१२.५० रुपियाँ, कोलकातामा ९३९ रुपियाँ र चेन्नईमा ९२८.५० रुपियाँ पुगेको छ। नोएडामा पनि यसको मूल्य दिल्लीसरह ९१३ रुपियाँ पुगेको छ।
होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने १९ किलोग्रामको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्यमा पनि ११४.५ रुपियाँ वृद्धि गरिएको छ। त्यसपछि नयाँ दिल्लीमा यसको मूल्य बढेर १,८८३ रुपियाँ पुगेको छ। यसअघि १ मार्चमा पनि १९ किलोग्रामको सिलिन्डरको मूल्य २८ रुपियाँ बढाइएको थियो।
नयाँ दरअनुसार मुम्बईमा १९ किलोग्रामको व्यावसायिक सिलिन्डर १,८३५ रुपियाँ, कोलकातामा १,९९० रुपियाँ र चेन्नईमा २,०४३.५० रुपियाँ पुगेको छ। यस वर्ष अहिलेसम्म व्यावसायिक एलपीजी सिलिन्डरको मूल्यमा कुल ३०२.५० रुपियाँ वृद्धि भएको छ।
यद्यपि प्रधानमन्त्री उज्ज्वला योजनाका लाभार्थीहरूलाई भने राहत कायम रहनेछ। यस योजनाअन्तर्गत निःशुल्क एलपीजी जडान पाएका १० करोड़भन्दा बढी गरीब परिवारले वर्षमा १२ सिलिन्डरसम्म प्रति सिलिन्डर ३०० रुपियाँ सब्सिडी पाइरहनेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी