
काठमाडौं, २९ अप्रेल (हि.स.)। नेपाल सरकारले राजदूतहरूको नियुक्ति खुल्ला प्रतिस्पर्धामार्फत गर्ने तयारी सुरु गरेको छ। विदेश मन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग गत सोमबार भएको छलफलमा यस सम्बन्धी छिट्टै विज्ञापन जारी गरिने संकेत दिएका थिए।
खनालका अनुसार, यसका लागि उनले बालेन्द्र शाहसँग सहमति लिइसकेका छन्। यदि यो प्रक्रिया अघि बढेमा बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गरिनेछ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सन् २०१८ मा राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतहरूका लागि मापदण्ड निर्धारण गरेको थियो।
‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका’ अनुसार, कुल रिक्त राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत विदेश सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट गरिने व्यवस्था छ। विगतका सरकारहरूले भने कहिल्यै पनि खुल्ला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गरेका थिएनन्। अहिलेसम्म विदेश मन्त्रालयमा कार्यरत करियर कूटनीतिज्ञ तथा सत्तारूढ दलले छनोट गरेका व्यक्तिहरूलाई मात्र राजदूत बनाउने चलन रहेको थियो।
विदेश मन्त्रालयका अधिकारीहरूले यसपटक पनि मन्त्री खनालसँग ५० प्रतिशतभन्दा बढी राजदूत करियर कूटनीतिज्ञहरूबाटै नियुक्त गर्न आग्रह गरेका छन्। खुल्ला प्रतिस्पर्धाका लागि जारी गरिने विज्ञापनमा इच्छुक उम्मेदवारहरूको उमेर, अनुभव तथा शैक्षिक योग्यताजस्ता विवरण माग्ने तयारी भइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल