
हुगली, 10 मई (हि. स.)। हुगली जिल्लाको गोघाट क्षेत्रमा एकजना तृणमूल कङ्ग्रेस कार्यकर्ताको रहस्यमय परिस्थितिमा मृत्यु भएको घटनापछि क्षेत्रमा कोकोहोलो मचिएको छ। मृतकको पहिचान नकुँड़ा ग्राम पञ्चायतकी सदस्य चायना बागका पति सहदेव बाग (50)- को रूपमा भएको छ।
पुलिस सूत्र अनुसार आइतवार बिहान गोघाटको नकुँड़ा पञ्चायत अन्तर्गत कोटा गाउँमा सहदेव बागको रगताम्मे शव फेला पऱ्यो। भनिन्छ, गए शनिवार साँझ तिनी घरबाट चिया पिउन भनी हिँड़ेका थिए, तर अबेर रातिसम्म पनि फर्केर आएनन्। पछि तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयको पछाड़ि नालामा उनको शव भेटियो। शवको अनुहार र शिरमा गम्भीर चोट लागेको छ।
मृतककी पत्नी औ पञ्चायत सदस्य चायना बागले आरोप लगाइन्, भाजपा समर्थित उपद्रवीहरूले पछिल्लो केही दिनदेखिको उनका पतिलाई लगातार धम्क्याइरहेका थिए। तिनीहरूले मेरो पतिको हत्या गरेका हुन्।
अर्कोतिर भाजपा नेताहरूले उक्त आरोपलाई खारेज गर्दै तृणमूल कङ्ग्रेसभित्र व्यापत आन्तरिक गुटबाजीको कारणले यो घटना भएको बताएका छन्।
घटनालाई केन्द्र गर्दै क्षेत्रमा प्रचुर मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा