
नाम्ची, 10 मई (हि.स.)। शिक्षा क्षेत्रमा दिएको बहुमूल्य योगदानको लागि नाम्चीको बुमटार निवासी एवं नाम्चीस्थित गर्ल्स सिनियर सेकेण्डरी विद्यालयकी शिक्षिका अनु नैवेद्य राईलाई मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। दक्षिण सिक्किमको नाम्ची आधारित डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा उनलाई उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मान जनाइएको हो।
यस अवसरमा उनलाई डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटीका कूलपति डा एमके राईको बाहुलीबाट उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरियो। उनीसितै साहित्यमा सिलगढीका मुक्तिप्रसाद उपाद्यय, सम्पादक वीरभद्र कार्कीढोली र खरसाङ निवासी छिमी ओङ्मु लामालाई पनि शिक्षामा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ।
शिक्षामा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित भएपछि शिक्षिका अनु नैवेद्य राईले यस अवसरको लागि डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटीको कूलपति डा एमके राई लगायत टिमलाई नै धन्यवाद दिएकी छन्। यस डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सिक्किम सरकारको शहरी विकास तथा खाद्य आपूर्ति विभागका मन्त्री भोजराज राई उपस्थित रहेका थिए।
कार्यक्रममा वक्ताको रूपमा नागाल्याण्डबाट उपस्थित डा किपफेली अंगामी, प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री भोजराज राई र कूलपति डा एमके राईले वक्तव्य राखेका थिए।
उल्लेखनीय छ, शिक्षिका अनु नैवेद्य राई गणित विषयका शिक्षिकाको रुपमा विगत 25 वर्षदेखि वरिष्ठ शिक्षिकाको रूपमा कार्य गर्दै आइरहेकी छन्। उनी वरिष्ठ साहित्यकार प्रेम थुलुङकी सुपुत्री पनि हुन्। शिक्षिका राईले गणित विषयका विद्यार्थीहरुलाई सजिलो होस् भनेर नौलो र सजिलो पद्धतिमा शिक्षा प्रदान गर्दै आइरहेकी छन्।
उनले गत कोभिडको समयमा गणित विषयका शिक्षक शिक्षिकाहरुका लागि अनलाइन क्लास पनि गराएकी थिइन्। उनलाई उनको बहुमुल्य योगदानको लागि 2025 मा शिक्षा विभाग सिक्किम सरकारले स्टेट अवार्डले सम्मानित गरेको थियो।
हिन्दुस्थान समाचार / बिशाल