
खरसाङ, 10 मई (हि.स.)। गोरामुमो तीनधारे सुकुना समष्टिको एक सभा तीनधारेस्थित वरिष्ठ नागरिक कल्याण संगठन भवनमा पार्टीको वरिष्ठ सदस्य जीएस लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टिका मूल सचिव प्रमोद थापाले स्वागत वक्तव्यमा सभाको औचित्य अनि पहाडको बदलिन्दो राजनैतिक परिवेशमाथि चर्चा गरेका थिए। उनले भने, आज गोरामुमोको सिद्धान्त र राजनैतिक टेक साकार हुने निश्चित छ। त्यसैले हामी सबै सबैलाई आफ्नो मूल घरमा फर्की आउने आह्वान् गर्दछौं। उनले यो समयमा हामीले धैर्य राख्नुपर्छ किनकि शत्रुहरूले हाम्रो योजना असफल पार्न सक्छ भनी सबैलाई सावधान गराए।
सभालाई युवा एकाईका सभापति संग्राम घतानेले सम्बोधन गर्दै भने, हामीले धेरै समय धैर्यतासाथ यो समयको प्रतीक्षा गर्यौं। आज गोरामुमो होइन, सबै गोर्खा जातिको आङमा न्यानो घाम लाग्ने निश्चित भएको छ। यो बेला हामी सबैले आ-आफ्नो स्वार्थ त्याग गर्न पर्छ अनि पारदर्शीतापूर्वक नेतृत्व गर्नुपर्छ।
सभालाई युवा एकाईका कार्यकारी सभापति अमित प्रधानले भने, पार्टीको माथिल्लो स्तरको नेताहरूले दिएको दिशा निर्देशलाई पालन गर्नुपर्छ, नत्र हाम्रो पार्टीलाई क्षति हुन सक्छ भनी सबैलाई होसियार गराए। उनले पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खाहरूले न्याय पाउने छ भनी बताए।
सभालाई नारी एकाइका सभापति शिला प्रधानले सम्बोधन राख्दै भनिन्, नारी शक्तिबिना कुनै पनि काम सफल हुन सक्दैन।यसैकारण हामी नारीहरू पनि पुरूषहरू संगसंगै काँधमा काँध मिलाएर अघि बढ्नपर्छ। तब मात्र हाम्रो लक्ष्य प्राप्त हुन्छ। उनले अब सबै नारीहरू अघि आइदिने निवेदन गरिन्। गाउँ गाउँमा जीएनडब्लुओ शाखाहरू गठन गर्न सबै नारीहरूमा आह्वान गरिन्।
बसभालाई समष्टि अध्यक्ष जेबी गुरुङले सम्बोधन राख्दै गत विधानसभा चुनाउमा विजयी भएका तीनैजना भाजपा उम्मेदवारहरुलाई बधाई अनि शुभकामना व्यक्त गरे। उनले भने, हामीले धेरै घाम पानी, तातो चिसो झेल्दै आएका छौ, अन्त्यमा हाम्रो ठूलो जीत हुने सुनिश्चित भएको छ। यसर्थ हामी होसियार हुनुपर्छ। हाम्रो खुशीमा शत्रुको गिद्दे नजर छ। हामीले अनुशासन कायम राख्न पर्छ। नत्र हाम्रो खुशीमा आगो लाग्छ। कसैको हो-हल्लामा लाग्नु हुँदैन।'
उनले अघि भने, पार्टीको दिशा निर्देशलाई पालन गर्नुपर्छ। कुनै अप्रिय घटना हुन सक्छ, जसले हाम्रो आगामी योजनामा क्षय क्षति हुन सक्छ। पार्टीलाई बलियो बनाउन गाउँ गाउँमा पार्टीको युनिटहरू खोल्नुपर्छ।' उनले प्रत्येक शाखा प्रतिनिधिहरूसंग पार्टी सम्बन्धित चर्चा गरे। अन्त्यमा सबै पार्टी समर्थकहरूले अनुशासन पालन गर्नु पर्छ भनी आह्वान गरे।
हिन्दुस्थान समाचार / हनोक