
हुगली, 10 मई (हि. स.)। जिल्लाको तारकेश्वरमा गए शनिवार राती तृणमूल कङ्ग्रेस र भाजपा कार्यकर्ताहरूबीच भएको झड़पलाई रोक्ने क्रममा तारकेश्वर थाना प्रभारी सुब्रत साधु घाइते भए। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ।
पुलिस र स्थानीय सूत्र अनुसार तारकेश्वर नगरपालिकाको वार्ड नम्बर सातमा तृणमूल एवं भाजपा कार्यकर्ताहरूबीच पहिला भनाबैरी भयो जुन पछि कुटपिटमा परिणत भयो। आरोप छ, साँझको समयमा भाजपा कार्यकर्ताहरू स्थानीय तृणमूल कार्यकर्ता पूजा सावको घरमा पुगेका थिए। यो खबर फैलिनसाथ तृणमूलका केही काकर्यकर्ताहरू त्यहाँ पुगे अनि दुवै पक्षबीच झड़प शुरू भयो।
सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। झड़पलाई रोक्ने चेष्टा गर्दा थाना प्रभारी सुब्रत साधुको शिरमा गम्भीर चोट लाग्यो जसले गर्दा तिनी रगताम्मे भएर मुर्छित परे। पछि उनलाई अस्पताल लगियो।
पुलिसले घटनामा संलिप्त पाँच जना भाजपा कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ। यसको विरोधमा भाजपा समर्थकहरूले राती नै तारकेश्वर थाना सामु प्रदर्शन गरे अनि कार्यकर्ताहरूलाई तुरून्त छोड़िदिने माग गरे।
यसबीच भाजपा नेता सुजय च्याटर्जीले उक्त आरोपलाई अस्वीकार गर्दै भने, भाजपा कार्यकर्ताहरू कसैको घरमा हमला गर्न गएका थिएनन्। यसको विपरीत मानिसहरूलाई यो भरोसा दिलाउन गएका थियौं कि क्षेत्रमा डराउने आवश्यकता छैन। उनले आरोप लगाए, तृणमूल कार्कर्ताहरूले नै हमला गरेका हुन्।
यता पूर्व विधायक रामेन्द्र सिंहले भने, तृणमूल कार्यकर्ताहरूले कसैमाथि हमला गरेका छैनन्। भाजपा कार्यकर्ताहरूले नै मानिसहरूलाई धम्काइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा