
रायपुर, ११ मई (हि.स.)। रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) ले आईपीएल २०२६ को रोमाञ्चक खेलमा मुम्बई इन्डियन्स (एमआई) लाई दुई विकेटले पराजित गर्दै प्लेअफतर्फ बलियो कदम चालेको छ। रायपुरमा खेलिएको यो लो स्कोरिङ तर हाई-भोल्टेज खेलमा बेङलुरुले अन्तिम बलमा १६७ रनको लक्ष्य हासिल गर्यो। यो हारसँगै मुम्बई इन्डियन्स प्रतियोगिताबाट बाहिरिएको छ। लगातार दुई हारपछि आरसीबीको लागि यो उल्लेखनीय पुनरागमन थियो भने टोली अङ्क तालिकाको शीर्षमा पुगेको छ।
मुम्बई इन्डियन्सको शुरुवात खराब रह्यो। टोलीले केवल तीन ओभरमा आफ्नो पहिलो तीन विकेट गुमायो। अनुभवी तेज बलर भुवनेश्वर कुमारले रोहित शर्मा र सूर्यकुमार यादव लगायत तीन ब्याट्सम्यानलाई शुरुमै आउट गरेर मुम्बईलाई दबाउमा पारे। यद्यपि, रोहितले १० बलमा २२ रनको द्रुत इनिङ खेले।
त्यसपछि नमन धीर र तिलक वर्माले इनिङको जिम्मेवारी लिए। दुवैले ८२ रनको महत्वपूर्ण साझेदारी गरे, जसले गर्दा मुम्बईले १०० रनको आँकडा पार गर्न सफल भयो। नमनले अर्धशतक बनाउन चुके भने तिलक वर्माले उत्कृष्ट अर्धशतक बनाए। यद्यपि, भुवनेश्वरले १८औं ओभरमा तिलकलाई आउट गरे, जसले गर्दा मुम्बईको गति रोकियो। मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो। भुवनेश्वरको ४ विकेटले खेलको मोड नै बदलियो।
लक्ष्यलाई पछ्याउँदै बेङलुरुको शुरुवात पनि खराब रह्यो। लगातार दोस्रो खेलमा आफ्नो खाता नखोली विराट कोहली आउट भए। दीपक चाहरले आरसीबीलाई प्रारम्भिक धक्का दिए। त्यसपछि क्रुणाल पाण्ड्या र ज्याकब बेथेलले इनिङलाई स्थिर बनाए। बेथेल आउट भएपछि पनि क्रुणालले हार नमानी केवल ३२ बलमा आफ्नो अर्धशतक पूरा गरे।
आरसीबीलाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो। खेल निरन्तर परिवर्तन हुँदै गयो। रोमारियो शेफर्ड आउट भएपछि पनि बेंङलुरु टिकी रहे। भुवनेश्वरले दबाउमा छक्का प्रहार गरे र रसिख सलामले अन्तिम बलमा दुई रन लिएर टोलीलाई यादगार जित दिलाए।
क्रुणाल पाण्ड्याको ७३ रनको म्याचविनिङ इनिङ र भुवनेश्वर कुमारको घातक बलिङ यस जितको मुख्य कारण बन्यो।
हिन्दुस्थान समाचार / बिशाल