पोखरण परमाणु परीक्षण भारतको वैज्ञानिक क्षमता र आत्मविश्वासको प्रतीक: नरेन्द्र मोदी
मोदी


नयाँ दिल्ली, 11 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रिय प्रविधि दिवसको अवसरमा देशवासीलाई शुभकामना दिँदै १९९८ मा सम्पन्न सफल पोखरण परमाणु परीक्षणलाई भारतको वैज्ञानिक क्षमता र आत्मविश्वासको प्रतीक बताएका छन्।

प्रधानमन्त्री मोदीले एक्स पोस्टमा राष्ट्रिय प्रविधि दिवसको शुभकामना व्यक्त गरेका हुन्। उनले भने, “हामी आफ्ना वैज्ञानिकहरूको कठोर मेहनत र समर्पणलाई गर्वका साथ सम्झन्छौं, जसको परिणामस्वरूप सन् १९९८ मा पोखरणमा सफल परीक्षण सम्पन्न भएको थियो। त्यो ऐतिहासिक क्षण भारतको वैज्ञानिक उत्कृष्टता र अटल प्रतिबद्धताको प्रतीक थियो।”

उनले प्रविधि आत्मनिर्भर भारत निर्माणको प्रमुख आधार बनेको उल्लेख गर्दै यसले नवप्रवर्तनलाई गति दिने, अवसरहरूको विस्तार गर्ने तथा विभिन्न क्षेत्रमा राष्ट्रको विकासमा योगदान पुर्याइरहेको बताए। मोदीले सरकारको निरन्तर प्रयास प्रतिभालाई सशक्त बनाउने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा राष्ट्रको प्रगति र जनआकांक्षा पूरा गर्ने समाधान विकासमा केन्द्रित रहेको पनि बताए।

प्रधानमन्त्रीले यस अवसरमा एक संस्कृत सुभाषित पनि साझा गरेका छन्, जसमा ‘अग्नि’ लाई स्वर्गको सर्वोच्च शक्ति र पृथ्वीमा सम्पूर्ण ऊर्जाको मूल स्रोतका रूपमा वर्णन गरिएको छ। उनले यही अग्नि तत्वले पदार्थका सूक्ष्मतम कणहरूमा लुकेको अपार शक्तिलाई जागृत गर्ने र सम्पूर्ण सृष्टिमा ऊर्जा तथा गतिशीलता प्रदान गर्ने बताए।

उनले पोस्टमा लेखेका छन्, “सन् १९९८ मा आजकै दिन पोखरणमा सम्पन्न परमाणु परीक्षणले विश्वलाई भारतको अद्भुत सामर्थ्यसँग परिचित गराएको थियो। हाम्रा वैज्ञानिकहरू देशको गौरव र स्वाभिमानका सच्चा शिल्पी हुन्।

अग्निर्मूर्धा दिवः ककुत्पतिः पृथिव्या अयम्। अपां रेतांसि जिन्वति॥”

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande