
मालदा, 11 मई (हि.स.)। जिल्लाको सादुल्लापुर घाटमा डुबेर एकजना 15 वर्षीय किशोरको मृत्यु भयो। मृतकको पहिचान अरूप दासको रूपमा भएको छ जो कक्षा दशका छात्र थिए।
जानकारी अनुसार अरूप आफ्ना साथीहरूसित आइतवार अपरान्ह साइकलमा गङ्गा (भागीरथी) नदीमा स्नान गर्न गएका थिए। नदीमा पस्नसाथ अरूप गहिरो पानीमा डुबे। साथीहरूले गुहार माग्दै चिच्याउन थालेपछि स्थानीय मानिसहरूले तुरून्त नदीमा पसेर उसलाई खोज्न शुरू गरे।
घटनाको सूचना पाएर पुलिस एवं सिभिल डिफेन्सको टीम घटनास्थलमा पुग्यो अनि स्पीड बोटको सहयोगमा गए आइतवार अबेर साँझसम्म खोजी अभियान परिचालन गरियो। तर अँध्यारो भएको कारणले अभियानलाई स्थगित गर्नु पऱ्यो। सोमवार बिहान फेरि खोजी अभियान शुरू गरियो। घण्टौंसम्म खोजेपछि स्थानीय युवकहरूको सहयोगमा अरूपको शवलाई नदीबाट उद्धार गरियो।
शव पाएपछि परिवारमा कोकोहोलो मचियो। यस घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ।
भनिन्छ, मालदा टाउन हाई स्कूलका छात्र अरूपको असामयिक निधनले क्षेत्रमा गहिरो दुःख छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा