
सोरेङ, 11 मई (हि.स.)। अखिल किरात राई सङ्घ, सिक्किम जिल प्रखण्ड समितिको तत्त्वावधानमा आइतवार साकेवा उभौली पर्व २०२६ रिन्चेनपोङ निर्वाचन क्षेत्रअन्तर्गत पुट्टार बस्तीमा स्थानीय किरात समुदायद्वारा पालन गरियो। उक्त कार्यक्रमको प्रारम्भमा किरात माङ्पा कुमार बाहिङ राई तथा वरिष्ठ वक्तोमी तन्सुक कुमार राईद्वारा नवस्थापित साकेवा लुङ, सिकिबुङ र सुप्तुलुङमा रिसीवा मुन्दुमसहित पूजा अर्चना गरी सम्पन्न गरियो।
यसै क्रममा उभौली साकेवा पर्व आयोजनाका निम्ति नयाँ भूमि प्रदान गर्ने नरबहादुर राई, मोहन राई तथा उनीहरूको परिवारप्रति विशेष आभार व्यक्त गर्दै किराती माङ्पाद्वारा सगुन तथा बेतेबुङ अर्पण गरी सम्मान जनाइयो।
यस अवसरमा अखिल किरात राई सङ्घका जिल खण्डस्तरीय अध्यक्ष चन्द्रकुमार राईले स्वागत मन्तव्य राख्दै साकेवा थान अधिग्रहणबारे संक्षिप्त जानकारी गराए। यसका साथै सिक्किम सरकारको शिक्षा विभागका राई भाषा, सहायक पाठ्यपुस्तक अधिकारी केबी राईले किरात राई जातिमा साकेवाको विशेषता, सांस्कृतिक महत्त्व तथा यसको संरक्षणको आवश्यकताबारे प्रकाश पारे।
कार्यक्रमको अन्तमा अकिरासका केन्द्रिय प्रचार प्रसार सचिव विष्णु चामलिङले आफ्नो सम्बोधन राख्दै यस वर्ष साकेला पर्व नयाँ स्थानमा सांस्कृतिक तथा परम्परागत रूपमा पालन गरिएको उल्लेख गर्दै आगामी २३ मई, २०२६ मा सम्पन्न हुन गइरहेको अखिल किरात राई सङ्घको केन्द्रिय समितिको वार्षिक सभामा सबैलाई उपस्थित हुन आग्रह गरे।
कार्यक्रमको सञ्चालन तथा धन्यवाद ज्ञापन रोशन राईले गरेका थिए। कार्यक्रम समापनपछि साकेवा थान परिसरमा सामूहिक सिली नाँच सम्पन्न गरियो।
हिन्दुस्थान समाचार / बिशाल