पेपथाङ प्राथमिक विद्यालयमा आइतबारे मार्गदर्शन कक्षा सञ्चालन शुरु
पेपथाङ प्राथमिक विद्यालयमा आइतबारे मार्गदर्शन कक्षा सञ्चालन शुरु


गान्तोक, 11 मई (हि.स.)। नाम्ची जिल्ला अन्तर्गत लिङ्गो पेपथाङ प्राथमिक विद्यालयले एक ऐतिहासिक कार्य शुरु गरेको छ। आइतवार, १० मई, २०२६ देखि विद्यालयका विद्यार्थीहरूका लागि एनईपी २०२० को कुशलता प्रदान गर्न प्रत्येक आइतबार स्वैच्छिक रूपमा निःशुल्क आइतबारे कक्षा शुरु गरिएको छ।

विद्यालयले विद्यार्थीहरूको घट्दो सङ्ख्यालाई मध्यनजर राख्दै विद्यालय र विद्यालय सञ्चालन समितिको तत्वावधानमा गत ५ सालदेखि निःशुल्क गाडीको सुविधा उपलब्ध गराएर विद्यार्थीहरूलाई विद्यालयमा ल्याउने काम गरिरहेको छ। यो पहल विद्यालयको एक अविस्मरणीय कार्य र पेपथाङ सरकारी विद्यालयलाई यथावत राख्ने स्तम्भ बनेको छ।

विद्यालयलाई माया गर्ने अभिभावकहरू भएकाले विद्यार्थीहरूको भविष्यको चिन्ता गर्दै विद्यालयले आइतबारे मार्गदर्शन कक्षा शुरु गरेको छ, जसमा सामान्य ज्ञान, अङ्ग्रेजी भाषामा बोलचाल, भौतिक विकासलाई प्राथमिकता दिएर सञ्चालन गरिन्छ। उक्त आइतबारे कक्षामा एनइपी २०२० लाई आधारको रूपमा लिएको छ।

आइतबारदेखि शुरु भएको कक्षामा विद्यालयका प्रभारी बिनोद कुमार शर्मा, प्रबन्धन समितिका अध्यक्ष युवराज दवाडी, स्रोत व्यक्तिको रुपमा लिङ्गी वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाचार्य प्रह्लाद शर्मा एवं विद्यार्थीहरू उपस्थित थिए।

विद्यार्थीहरूलाई प्रधानाचार्य शर्माले विभिन्न कार्यक्रम र खेलद्वारा अङ्ग्रेजी वर्णमालाका आवाज, शब्द निर्माण एवं भण्डारण, वाक्य निर्माण एवं परिचय प्रस्तुति, सुन्ने कला र अङ्ग्रेजी बोल्ने तरिका सिकाए। यी कक्षाहरू स्वेच्छाले सञ्चालन हुने बताइएको छ, जसमा अभिभावक र शिक्षक दुवैको सहमति रहेको छ।

आगामी दिनमा पनि विभिन्न स्कूलका प्रशिक्षित शिक्षकहरूद्वारा विभिन्न विषयमा कक्षाहरू लगातार रुपमा जारी राखिने युवराज दवाडीले जानकारी दिएका छन्। यस अभिनव कार्यको निम्ति स्कूलले शिक्षा विभाग नाम्ची, विद्यालय सञ्चालन समिति, अभिभावकहरू, विद्यार्थीहरू र शिक्षकहरूप्रति आभार व्यक्त गरेको छ।

उल्लेखनीय छ, विद्यालयले २०१३ सालमा एक छात्रालाई सीएमएमएस छात्रवृत्तिमा पठाउन सक्षम बनेको थियो। यसैगरी, २०२२, २०२३ र २०२६ मा पनि एक-एक जना विद्यार्थीलाई पठाएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande