
होजाई (असम), 12 मई, (हि.स.)। लामडिङ्गमा गए राती एक भयानक आगलागीको घटना घट्यो। यस घटनामा एकजना व्यक्तिको घर पूर्ण रूपले जलेर खरानी भयो। दक्षिण लामडिङ्ग उच्चतर माध्यमिक विद्यालयको छेवैमा भएको यस घटनामा राजू गुप्ता नामक व्यक्तिको घर सहित घरभित्र राखिएका सबै सामानहरू जलेर स्वाहा भयो।
प्राप्त जानकारी अनुसार अबेर राती अचानक राजू गुप्ताको घरमा आगो लाग्यो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण घरलाई आफ्नो चपेटमा लियो। आगो बलिरहेको बेला घरभित्र राखिएको भान्सा ग्यासको सिलेण्डर पनि विस्फोट भयो जसले गर्दा स्थिति झन् भयावह भयो। सिलेण्ड विस्फोटको तीव्र ध्वनिले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलायो।
यस अग्निकाण्डमा घरसँगसँगै घरभित्र राखिएका अन्य सम्पत्तिहरू पनि जलेर नष्ट भयो। स्थानीय मानिसहरूले तत्परता देखाउँदै आफै आगो बुझाउने प्रयास गर्न थाले। आरोप छ, सूचना दिइएको भए पनि अग्निशमन विभाग अबेर गरी घटनास्थलमा पुग्यो। त्यसैले दमकल पुग्न अगावै स्थानीय मानिसहरूले केही हदसम्म आगोलाई निभाइसकेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा