लेखक एसबी राईद्वारा लिखित पुस्तक ‘पञ्चकर्म विवरण’ को लोकार्पण
Pancha karma vivaran launched


गान्तोक, 12 मई (हि.स.)। सिक्किम अकादेमीले सोमवार लेखक एसबी राईद्वारा लिखित पुस्तक ‘पञ्चकर्म विवरण’ को लोकार्पण गरेको छ। पश्चिम सिक्किमको तिकपुर, सोमवारे निवासी एसबी राईले किराँत राई जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कारबारे आफ्नो अध्ययन र बुझाइलाई पुस्तकमा प्रकाशित गरेका छन्।

अकादेमीका अध्यक्ष प्रवीण राई जुमेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डा. सूचन प्रधानले पुस्तकमाथि समीक्षात्मक टिप्पणी राखे। ‘पञ्चकर्म विवरण’ भित्र कतिपय विषयहरूलाई अध्ययन गर्दा संस्कार पद्धतिहरू किराँत राईको मुन्धूममा उल्लेख नभएर हिन्दु संस्कारसँग मेल खाएकाले यसमा प्रश्न खडा हुनसक्ने बताए। भविष्यमा अर्को पुस्तक प्रकाशित भएमा कतिपय सच्याउनुपर्ने उनले सुझाउ राख्दै यति मिहेनतका साथ वृहत पुस्तक तयार पारेकोमा लेखकलाई बधाई दिए।

लेखक एसबी राईले पुस्तक लेखन र प्रकाशनबारे मन्तव्य राख्दै किराँत राईको इतिहासबारे स्वअध्ययन र विभिन्न विज्ञजनबाट प्राप्त ज्ञान र प्रेरणाअनुरुप पुस्तक लेखिएको बताए। कार्यक्रमलाई साहित्यकार प्रवीण खालिङले सञ्चालन गरेका थिए। यस अवसरमा कवि टीबी बस्नेतद्वारा लिखित कविता सङ्ग्रह अन्तरालभित्र अन्तर्निहित अन्तर्ध्वनिहरू-को पनि विमोचन गरियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande